सूचनाको शक्ति - The Power Of Information

        

साउदीमा ‘काम र दाम’ नपाउँदा नेपाली युवा अलपत्र

बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् । रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका बिनोद राई लगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् ।

श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगारविहिन बनाइएको राईले गुनासो गरेका छन् । राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठडौंमार्फत साउदी अरेबियाको नास मेनपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरु मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेवरका रुपमा नास मेनपावर सोलुसन कम्पनीमा पुर्याइएका हुन् ।

हाल होटल किचन वर्करका रुपमा काम लगाइएका उनीहरुको सामान्यः खाने र बस्ने व्यवस्था भने नास मेनपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा मेनपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन् । मेनपावरको एजेन्ट हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेको राईले बताए ।

‘रोजगारी देउ भनेर कुरा राख्दा नेपालको मेनपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘मेनपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । हामीलाई ठगिएको छ । प्रकाश पन्थीले मैले काम छाडेर बंगुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’ काम र दामबिहीन बनाइएका १०–१५ जना युवालाई अल्खारेजमा राखिएको छ ।

उनीहरुका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौं युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतिक्षामा छन् । अलपत्र युवाका आफन्तले उद्धारका लागि बैदेसिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन् । उद्धारका लागि बैदेशिक रोजगार विभागमा पुग्दा मेनपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १३:०३