अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डौको मनमैजु नापी कार्यालयमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई घुस रकम तथा स्रोत नखेलेको गरी झण्डै २७ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।
नगद तथा स्रोत नखुलेको चेकको रकमसहित २७ लाख २९ हजार ८ सय ८८ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । काठमाण्डौको तारकेश्वर नगरपालिका मनमैजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उपरकोटी र कार्कीलाई पक्राउ गरेको हो ।
सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको र थप खानतलासी गर्दा स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रुपैयाँ तथा लेखापढी व्यवसायी अभिशेक कार्कीको नाममा काटिएको १६ लाख रुपैयाँको तीन थान तथा सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख ८५ हजार तीन सय अठासी रुपैयाँसहित मनमैजुबाट पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
सत्यपाटी संवाददाता । काठमाडौँ