सूचनाको शक्ति - The Power Of Information

        

उचित कृषि नीतिको अभावमा किसान मर्कामा : मन्त्री गिरी


रेनुका गिरी । बुटवल । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उचित कृषि नीतिको अभावमा किसान मर्कामा परेको बताएका छन् । आइतबार साना किसान सहकारी संस्था लिमिटेड सेमरा, रुपन्देहीे शाखाको उद्घाटन गर्दै मन्त्री गिरीले कृषि सेवा केन्द्रबाट पनि किसानले सोचे जस्तो सेवा पाउन नसकेको बताए ।
उनले उर्वरभूमि मर्चवारका जनताको जीवनस्तर उकास्नका लागि मर्चवारको विकासमा प्रदेश सरकारले पहल गर्ने बताए । मन्त्री गिरीले मर्चवार क्षेत्रमा धेरै सम्भावना रहेको बताउँदै उक्त क्षेत्रलाई होमस्टेको माध्यमबाट पर्यटक भित्र्याएर आर्थिक अवस्था मजबुत पार्न सकिने बताए ।
मर्चवारमा रहेको मर्चवारीमाई मन्दिरलाई पनि पर्यटकीय स्थलको रुपमा विकास गरी लुम्बिनी आउने पर्यटकलाई पनि मर्चवार ल्याउन सकिने मन्त्री गिरीको भनाइ थियो । साना किसान सहकारी संस्था गोनहा, रुपन्देहीका अध्यक्ष एवं पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले सेमरालाई स्थापना कालदेखि नै सहकारीले वित्तिय तथा गैरवित्तीय सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । रुपन्देहीका प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले खर्च गरे पछि बच्ने पैसालाई घरमा राख्नुको सट्टा सहकारीमा बचत गर्न स्थानीयवासीलाई आग्रह गरे ।
कार्यक्रममा समाजसेवी एवं नेपाल कम्युनिष्ट पार्टीका नेता बाबुलाल यादव, नेपाल कम्युनिष्ट पार्टीकी पम्फावती खनाल, मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द वनिया, समाजसेवी साधुसरण सहानी, लक्ष्मीदेवी मौर्य लगायतले बोल्दै सहकारीले महिलाको जीवनस्तर उकास्ने काम गरेको बताए । शाखामा ५२६ महिला शेयर सदस्य छन् भने १५ लाख संस्थागत पूँजी रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार ०४:३५