सूचनाको शक्ति - The Power Of Information

        

अनागरिक हुँदाको पीडा

५५ वर्षदेखि नागरिकताविहीन परिवार, सन्तान पनि अनागरिक

चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दर्तासमेत हुन सकेको छैन । जसका कारण उनीहरूका छ सन्तानको न जन्मदर्ता बनेको छ न त नागरिकता नै बनेका छन् ।

बाल्यकालमै परिवारका सदस्यसँग मजदुरीका लागि कालापहाड जानु नेपालीको बाध्यता हो । त्यही बाध्यताको कसीमा कसिएका धेरै मध्येका एक चन्द्रबहादुर शेर्पा हुन् । बालक अवस्थामा आमासँग भारत गएका उनी अहिले ५५ वर्षका भए । आजसम्म पनि नत उनको जन्मदर्ता छ, नत नागरिकता नै ।

नेपाली नागरिक भएर जन्म लिए पनि अहिलेसम्म उनी अनागरिक जस्तै बनेका छन् । सानैमा बुबा गुमाएका चन्द्रबहादुर आमासँग कालापहाड गएका थिए । कालापहाड पुग्दा आमाले अर्कैसँग बिहे गरेपछि उनी बिचल्लीमा परे । उनको कालापहाडमै काम गर्न पुगेका पश्चिम दैलेखका सरुने सुजी लगायतसँग भेट हुन पुग्यो ।

उनीहरूले सँगै काम लगाए । चन्द्रबहादुर हर्कदै गए । अन्तः पश्चिम दैलेखका गगने र उनका साथीहरू घर फर्किनुपर्ने भयो । कालापहाडमा चन्द्रबहादुर एक्लै थिए । बिरानो त्यो भूमिमा उनको बुवाआमा कोही थिएनन्, आफन्तहरू हुने कुरै थिएन । सरुने सुजीको टोली फर्किने भएपछि लामो समयसँगै काम गरेका र आमाबुबा जे भने पनि उनै सरुने र उनको टोली थियो ।

सरुने सुजी र उनको सबै टोली नै घर फर्किने कुराले चन्द्रबहादुरलाई एक्लो हुने चिन्ताले पिरोलिरहेको थियो । चन्द्रबहादुरलाई सरुने सुजीले आफैसँग घर लैजाने निधो गरे । सरुनेसँगै नेपाल फर्केका चन्द्रबहादुरले अहिलेसम्म नागरिकता बनाउन सकेका छैनन् । उमेरले ५५ वर्ष पुगे पनि अहिलेसम्म उनी अनागरिक भएर बसेका छन् ।

ठाटीकाँध गाउँपालिका–३ भुवाखाडामा बसोबास गर्ने उनीसँग जन्मदर्ता नै छैन । श्रीमती गगनी विकको भने माइतबाट बनाएको नागरिकता छ । तर, चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दर्तासमेत हुन सकेको छैन । जसका कारण उनीहरूका छ सन्तानको न जन्मदर्ता बनेको छ न त नागरिकता नै बनेका छन् ।

परिवारै अनागरिक सरह बाँच्नुपरेको गगनी विक बताउँछिन् । श्रीमानको नागरिकता र बालबच्चाको जन्मदर्ता बनाउन वर्षौ देखि धेरै प्रयास गर्यौ । न श्रीमानको नागरिकता बन्यो न त बालबच्चाको जन्मदर्ता नै,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘जन्मदर्ता नहुँदा बालबच्चाको नाम स्कुलमा लेखिँदैन । बालबच्चाले पढ्न नपाएको पीडा सम्झिँदा मन भक्कानिन्छ ।’

उनीहरूको परिवारले जन्मदर्ता तथा नागरिकता पाउन ३५ वर्षदेखि संघर्ष गरिरहेका छन् । तर पनि नागरिकता पाउन सकेका छैनन् । वर्षौँदेखि वडादेखि पालिकासम्म पटकपटक धाउँदा पनि आफ्नो पीडा कसैले नसुनेको उनको परिवारको गुनासो छ । नागरिकता र जन्मदर्ता बनाउन विभिन्न बहानामा वडा कार्यालय नै बाधक बनेको गगनीले बताइन् ।

बालबालिका शिक्षाबाट बञ्चित

शेर्पा दम्पती र उनका सन्तान नागरिकता र जन्म दर्ता मात्र नभएर उनीहरूका सन्तान शिक्षाबाट समेट बञ्चित हुँदै आएका छन् । दुई छोरी पवित्रा र दीपाको विवाह भइसकेको छ । तर, उनीहरूले पनि विवाह दर्ता बनाउन सकेका छैनन् । अर्की छोरी दुधा १३ वर्षको पुगिन् ।

१६ वर्षीय छोरा जीवन, १२ वर्षीय राजन र १० वर्षीय सुनीलले पनि न जन्मदर्ता बनाउन पाएका छन् नत पढ्नै पाएका छन् । उनीहरूको जन्मदर्ता नहुँदा शिक्षाबाटसमेत बञ्चित हुँदै आएका छन् । आफ्नो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता र विवाह दर्तासमेत बनाउन नसकेको भन्दै गहभरी आँसु झार्दै गगनीले भक्कानिदै आफ्ना बेदना पोखिन् ।

गहभरीका आशुलाई एक छेउ लगाउदै गगनीले आफ्ना सन्तानको पठनपाठनमा पनि उस्तै समस्या भएको बताइन् । यतिका वर्ष अनागरिक भयौँ सरकार अब नागरिकता माग्न कहाँ जाऊँ ? गगनीको प्रश्न थियो । नागरिकता दिलाइदिनका लागि स्थानीय सरकार र आफुले निर्वाचित गराएर पठाएका नेताहरूसमक्ष नपुगेका होइनन् ।

सबै सामु जति हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको दुखेसो छ । छिमेकीका सन्तान उच्च शिक्षा पढ्न जाँदै गर्दा आफ्ना सन्तानले पढ्न नपाउँदाको पीडाले रातदिन सताउने गरेको गगनीले बताइन् । ‘नागरिकता नहुँदा रोजगारी समेत कसैले दिँदैन । परिवारको छाक टार्नै हम्मेहम्मे परिरहेको छ,’ उनले भनिन् ।

यो दम्पतीका सन्तान सरकारी विद्यालयमा पढ्न न्यूनतम सेवासुविधाबाट समेत बञ्चित हुँदै आएका छन् । घरनजिकै जन आधारभुत विद्यालयमा औपचारिक भर्ना नभए पनि सबैले कक्षा ५ सम्म पढेको कान्छी छोरी दुधाले बताइन् । ‘आफूभन्दा सानाहरू माथिल्लो कक्षामा जाँदा आफू उहीँ कक्षामा बसेर पढ्नुपर्दा जेठी र माइली दिदीले पढाइ छोड्नुभयो,’ उनले भनिन् ।

शेर्पाको जन्मघर कहाँ हो भनेर नखुलेको ठाटीकाँध–३ वडाध्यक्ष भरतबहादुर बम बताउँछन् । उनका अनुसार बुबाआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको छ । यो परिवारलाई जन्मदर्ता, नागरिकता दिलाउन आफूले जिल्ला प्रशासन कार्यालय धाइरहेको वडाध्यक्ष बमले बताए ।

जिल्ला प्रशासन कार्यालयमा जाँदा कर्मचारीले बाटोमा हिँड्ने जो कोहीलाई नागरिकता दिन नसकिने जवाफ दिने गरेको समेत उनले बताए । यी बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले चन्द्रबहादुरलाई नागरिकता दिएर सन्तानको पनि जन्मदर्ता बनाउनुपर्ने जन आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्रबहादुर शाही बताउँछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०८:३४