सूचनाको शक्ति - The Power Of Information

        

मार्सी धान रोप्ने दिन कुलो बगेपछि किसान चिन्तामा

जुम्लामा मात्र उत्पादन हुने लोकप्रिय मार्सी धान खेती चैत १२ बाट शुरु हुन्छ । यो धान नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गरेको छ । चैत २ गतेसम्म भारत गएका धान किसान घर फर्किने चलन छ ।

हिमा गाउँपालिकाका जुम्लाका धान किसानले धानको वीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई धान उत्पादनको शुरुवातीका रूपमा लिने गरेको छ । त्यस्तै हिमा गाउँपालिका–१ बड्कीका स्थानीय वीरबहादुर शाहीले योपटक धान रोपाइँ नहुने बताए ।

उनले भने, ‘धेरै सिँचाइ कुला बाढीले बगाइसकेकाले केही ठाउँमा मात्रै धान रोपाइँ हुनेछ ।’ त्यस्तै ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार जुम्लाभरी विपत्ले खेतीयोग्य जमिन र कुलो बगाएको छ ।

उनले भने, ‘कार्यालयमा ३४ वटा सिँचाइ कुलो बगाएको निवेदन आएका छन् ।’ उनका अनुसार कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा ऊर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाइएको छ । बाढीले प्रभावित भएका क्षेत्रमा यो पटक धानखेती गर्न कठिन देखिएको छ ।

तिला गाउँपालिका–१ स्थानीय बासिन्दा माने रावतका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ । मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ । हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ, २० गते ब्याडमा छरिन्छ ।

हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ । चैत १२ गतेलाई यहाँको परम्परागत चलनअनुसार ‘बारुवा’ पनि भनिने गरेको छ । त्यस्तै जुम्लामा दुई हजार ९५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत असोजमा आएको बाढीपहिरोले धान रोप्ने खेतका सिँचाइ कुलामा क्षति भएको छ । उनले भने, ‘जिल्लाका आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ । उक्त धान पाक्न सात महिना लाग्छ । चैतमा वीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नु पर्छ । वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ ।’

त्यसपछि बीउ हरियो हुन्छ । भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ । कृषि विकास कार्यालयका अनुसार एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जौँ काट्दै सँगसँगै रोपाइँ गरिन्छ । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन ।

नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ शुरु हुन्छ । असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ । भदौमा झारजङ्गल काट्नुपर्छ । त्यसैगरी मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बताए । नेपालमा असार १५ गते धान दिवस मनाउने गरिए पनि कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा हरेक वर्ष चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार १६:५२