सूचनाको शक्ति - The Power Of Information

        

थाइरोइडको औषधि सेवन गर्ने महिलाको संख्या बढ्यो


रेनुका गिरी । बुटवल । रुपन्देही तिलोत्तमा नगरपालीका–१ शंकरनगरकी धनीकला पाण्डे बिहिबार बिहान ८ नबज्दै बुटवल हस्पिटल लाईनमा रहेको नेशनल प्याथ ल्याबमा भेटिइन् । उनी त्यहाँ थाइरोइडको नियमित चेकजाँच गराउन आउँछिन् । विगत ४ वर्षदेखि उनी नियमित थाइरोइडको औषधि सेवन गरिरहेकी छिन् । यस्तै तिलोत्तमा नगरपालीका–१ शंकरनगरकी मोतीसरा भट्टराईले पनि विगत ३ वर्षदेखि थाइरोइडको नियमित औषधि सेवन गरिरहेकी छिन् ।
धनीकला र मोतीसराले जस्तै धेरै महिला थाइरोइडको नियमित औषधि सेवन गर्ने महिलाहरु बढिरहेका छन् । नेशनल प्याथल्यावका अध्यक्ष रुद्र कार्कीका अनुसार दैनिक डेढ दुई सयको हाराहारीमा थाइरोइडका बिरामी चेकजाँचका लागि आउने गरेको बताउँछन् । ‘केही वर्षअघिसम्म नेपालमा थाइरोइड परीक्षण गर्ने व्यवस्था थिएन, धेरैजसो बिरामी रोग पहिचान नगरिकन बस्थे,’ नेशनल प्याथ ल्याबकी प्याथोलोजिस्ट डा. लिला खत्री भन्छिन्, ‘अहिले धेरै ल्याबमा यसको परीक्षण गर्न थालेपछि नेपालमा यो रोगका बिरामी बढेका छन् ।’
थाइरोइड घाँटीको बीच भागमा पुतली आकारमा रहेको एक हर्मोन उत्पादन गर्ने ग्रन्थी हो । विभिन्न कारण उक्त ग्रन्थीमा समस्या आएर हर्मोन बढी उत्पादन गर्ने तथा कम उत्पादन गर्ने अवस्था नै थाइरोइड हो । यो हर्मोनले शरीरभर आवश्यक हर्मोन रस उत्पादन गर्छ । यो हर्मोनबिना मानिस बाँच्न सक्दैन । प्याथोलोजिस्ट डा. खत्रीकोे अनुभवमा यो समस्या महिलामै बढी देखिन्छ । रोग प्रतिरोध क्षमतामा हुने गडबढी भएमा यो रोगले महिलालाई बढी आक्रमण गर्छ । यो रोग १० जना महिलामा देखिँदा एकजना पुरुषमा देखिन्छ ।
३० देखि ५५ वर्ष उमेरका महिलामा यो रोगको समस्या अत्यधिक पाइएको छ । चिकित्सकका अनुसार थाइरोइड कम हुने र बढी हुने दुवै अवस्थामा शरीरमा असन्तुलन हुन्छ । यो ग्रन्थीको काममा गडबडी पैदा हुँदा अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन हुन्छ । थाइरोइड घाँटीको अघिल्लो भागमा रुद्र घन्टीको तल रहने एक प्रकारको ग्रन्थी हो । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइरोइडको खास काम शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । यसलाई शरीरको ‘एक्सिलेटर’ पनि भन्ने गरिन्छ ।

‘केही वर्षअघिसम्म नेपालमा थाइरोइड परीक्षण गर्ने व्यवस्था थिएन, धेरैजसो बिरामी रोग पहिचान नगरिकन बस्थे,’ नेशनल प्याथ ल्याबकी प्याथोलोजिस्ट डा. लिला खत्री भन्छिन्, ‘अहिले धेरै ल्याबमा यसको परीक्षण गर्न थालेपछि नेपालमा यो रोगका बिरामी बढेका छन् ।’

अझ युवा उमेरका महिलामा थाइरोइड रोगको समस्या बढ्दो रहेको चिकित्सकले बताएका छन । प्याथोलोजिस्ट डा. लिला खत्रीका अनुसार १३ देखि १४ वर्षका युवतीमा महिनावारी गडबडी भए थाइरोइड परीक्षण गराउनुपर्छ । यसमा शरीरले एन्टिबडी बनाएर थाइरोइडलाई काम गर्न दिँदैन । कहिलेकाहीँ रुघाखोकी वा घाँटी दुख्ने समस्या भए र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइरोइड हर्मोनको गडबडी हुन्छ । तर, केही समयपछि यो समस्या आफैँ निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेसनको औषधीका कारण पनि थाइरोइडको समस्या हुनसक्छ । यो रोग पुरुषको तुलनामा महिलामा धेरै देखिएको डाक्टरको भनाई छ ।
बालबालिकामा वंशाणुगत कारणले लाग्ने हाइपो थाइरोडिजमले उनीहरुको दिमागको वृद्धि विकास रोकिने र सुस्त मनस्थितिको हुने समेत अध्ययनले देखाएको छ । गर्भावस्थामा त्यो भन्दाअघि थाइरोइडको समस्या भए बच्चामा सर्ने जोखिम बढी समेत प्याथोलोजिस्ट डा. खत्रीले जानकारी दिइन् । एक दशकअघिसम्म चर्चामै नआएको यो रोगका बिरामी बढिरहेको र महिलामा बढी पाइएको डा. खत्रीको भनाइ छ । चिकित्सकका अनुसार थाइरोइड चार प्रकारका हुन्छन् । पहिलो, हाइपोथाइरिजमा (शरीरमा थाइराइड हर्मोन कम उत्पादन हुने), दोस्रो, हाइपरथाइरोडिजम, तेस्रो गलगाँड र चौथो थाइराइड ग्रन्थीको क्यान्सर ।
यीमध्ये हाइपोथाइरोमि महिलामा बढी पाइएको छ । चिकित्सकका अनुसार यो रोग लागेमा थकाइ लाग्ने, निन्द्रा लाग्ने, जिउ सुन्निने, छाला खस्रो हुने, मोटाउँदै जाने, महिनावारीमा बढी रगत हुने, एकाग्र हुने शक्ति घट्ने, कब्जियत हुने लगायत समस्या देखिन्छन् । हाइपरथाइरोजिम (हर्मोन कम उत्पादन हुने समस्या) का लक्षण बैचनी हुने, निन्द्रा कम लाग्ने, मुटु ढुकढुक हुने, हातखुट्टा काँप्दै जाने, दिसा धेरैपटक लाग्ने, आँखाको गेडा ठूलो भएर जाने, महिनावारी कम हुने जस्ता समस्या देखिन्छन् । गलगाँडमा घाँटीमा बाहिरै डल्लो देखिने लक्षण देखिन्छ ।

‘१० वर्षअघिसम्म नेपालमा थाइरोइड परीक्षण थिएन, अहिले धेरैजसो ल्याबमा हुन्छ’

वंशाणुगत कारणले बालबालिकालाई हाइपो थाइरोडिजम रोग लाग्नसक्ने प्याथोलोजिस्ट डा. खत्रीकोे भनाइ छ । एक दशकयता नेपालीहरु स्वास्थ्यप्रति सचेत हुँदै गएपछि नेपालमा थाइरोइडको तथ्यांक बढी देखिएको चिकित्सकको अनुभव छ । ‘१० वर्षअघिसम्म नेपालमा थाइरोइड परीक्षण थिएन, अहिले धेरैजसो ल्याबमा हुन्छ,’ डा. खत्रीले भनिन् । थाइराइड बढी देखिनुमा मुख्य कारण नेपालमा भएको जनचेतना भएको फिजिसियन डा. खत्री बताउँछिन् । शरीरमा आयोडिनको कमी या बढी हुनु, एक्सरेजस्ता विकिरणको सम्पर्क प्रभावमा पर्नु, मुुटु तथा मिर्गौलाको बिरामी हुनु, खानपानमा विषादीको बढी प्रयोग हुनुलगायत कारण छन् ।
पुरुषको तुलनामा महिलामा हर्मेनको कमी हुन्छ । ‘महिलाले मोटाइन्छ भनेर कम क्यालोरी खान्छन् । यसले गर्दा हर्मोन उत्पादन कम र बढी हुन्छ र थाइराइड समस्या देखिन्छ,’’ डा. खत्रीले भनिन् । चिकित्सकका अनुसार थाइरोइड मानिसको जीवनशैलीसँग सम्बन्धित नभएर थाइरोइड हर्मोनमा आउने गडबडी हो । हाइपरथाइरिजमको समयमै उपचार नभए मस्तिष्क, मुटुलाई असर गर्ने, बाँझोपन हुने बेहोस भएर ढल्ने खतरा हुन्छ भने हाइपोथाइरोडिजम (हर्मोन बढी हुने) भएमा मुटुको चाल गडबड भएर मानिसको मृत्यु हुन सक्ने सम्भावना हुन्छ ।
यसर्थ थाइरोइड हर्मोन कम भएमा बढ्ने औषधि सेवन गर्नुपर्ने र बढी भएमा कम गर्ने औषधि सेवन गर्न सकिन्छ । यी दुवै प्रकारका थाइरोइडमा ६ महिनासम्म थाइरोइड हर्मोन औषधि प्रयोग गरेपछि हराएर जाने हुन्छ भने शरीरमा प्रतिरक्षा क्षमतामा ह्रास भएर उत्पन्न भएको थाइरोइडमा भने जीवनभर यो हर्मोनको प्रयोग गर्नुपर्ने चिकित्सकको सुझाव छ । हाइपोथाइजिमको कारण बढेको मोटोपनामा हर्मोन प्रयोग गर्दैमा मोटोपना नघट्ने भएकोले व्यायममा उत्तिकै ध्यान दिनुपर्ने जरुरी रहेको चिकित्सकको सुझाव छ । बेलाबेलामा परीक्षण गर्ने गरेर रोगको समयमै पहिचान गरी यसको ठूलो असरबाट जोगिन डा. खत्रीको सुझाव छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आइतवार ०५:३५