सूचनाको शक्ति - The Power Of Information

        

अमृतपाल रोक्न नेपाल–भारत सीमा नाकामा भारतीय सुरक्षा अलर्ट

भारतले खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ ।

पछिल्लो दिनमा लन्डन र सन फ्रान्सिसको लगायत भारतमा समेत खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा सिमाना सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वारिस दे पञ्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर पत्ता लगाएको भारतीय सुरक्षा अधिकारीले उनी सोही क्षेत्रवाट नेपाल पस्ने सक्ने आशंकमा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको हो ।

भारतीय सुरक्षा स्रोतलाई उद्यृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उत्तराखण्डबाट नेपालभित्र पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको छ भने पछिल्ला दिनमा शंका लागेका मुख्यतः शिख समुदायका मानिसहरुलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ ।

अमृतपाल सिंह सम्पर्कबिहिन भए पनि खालिस्तान समर्थकहरुलाई भने भारतीय प्रहरीले देशैभरीबाट धमाधम पक्राउ गरिरहेको छ भने हिंसा भड्किने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सिमाभित्र केही दिन इन्टनेटसमेत पनि अवरुद्ध गरेको थियो ।

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समुहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपाल विरुद्ध कारवाही सुरु गरेको हो । प्रहरीले उनीमाथि लूकआउट नोटिस तथा विना धरौटीको पक्राउ पुर्जी जारी गरेको छ ।

उता, अमृतपालमाथि धरपकड हुने थालेपछि पश्चिमा मुलुकमा रहेका खालिस्तान समर्थकहरुले भारतीय नियोगमा राखिएका झन्डाहरु निकालेर खालिस्तानी झन्डासमेत राखेका थिए । खालिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १८:३०