मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
कुँवरलाई आइजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्त गरेको हो ।
कुवँरलाई आइजीपी नियुक्त गर्ने निर्णय गरिएको पर्यटनमन्त्री सुदन किरातीले जनाकारी दिए । मन्त्री किरातीले भने, ‘कसैलाई भेदवाभ नगरी कुवँरलाई आइजीपी नियुक्त गरिएको हो । एआइजी बढुवामा उहाँ एक नम्बरमा हुनुहुन्थ्यो । कसैप्रति अन्याय भएको छैन ।’
कुँवरसँगै श्यामलाल ज्ञवाली पनि आइजीपी बन्ने चर्चामा थिए । मन्त्रिपरिषदले प्रहरीको ३०औं आइजीपीको रुपमा कुँवरको बढुवा गरेको हो । उनले आफ्ना प्रतिस्पर्धी चार एआइजीलाई पछि पारेका छन् ।
दुई साताअघि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कुँवरसहित पाँच जना डीआईजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो । बुधबार मात्र मन्त्रिपरिषदले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।
एआइजीमा बढुवा भएको दुई दिनमै कुँवर आइजीपी बनेका हुन् । कुँवरको कार्यकाल हालको ३० वर्षे सेवा अवधिको प्रावधान अनुसार २०८१ चैतसम्म हुनेछ । उनी २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
डीआइजी रहँदा मधेस प्रदेश प्रमुख रहेका कुँवरले प्रहरी प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए । त्यस्तै, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर कुँवरले सफल कार्यकाल पूरा गरेका थिए ।
आइजीपीको दाबेदारका अन्य एआइजीमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । कुँवर डीआइजी र एआइजीमा पहिलो वरियतामा बढुवा भएका थिए ।
अवकाश पाएका सिंहलाई गएको १८ वैशाखमा बढुवा गरिएको थियो । उनीसँगै एकै ब्याचका तीन एआइजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं