सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय जनगणना २०७८ को नतिजा

३३.१ प्रतिशत नेपाली अविवाहित

८३३ जना महिलाको ५० वर्षको उमेरपछि विवाह भएको छ ।

नेपालको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा १२ औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

जनगणनामा देशका हरेक परिवारमा बसोबास गर्ने १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूको वैवाहिक स्थिति सम्बन्धी प्रश्न समावेश गरिएको थियो । जसअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३३.१ प्रतिशत अविवाहित रहेका छन् ।

१० वर्षभन्दा माथिल्लो उमेरका पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत अविवाहित रहेको पाइएको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । दश वर्षमाथिका व्यक्तिहरूमध्ये ६१.८ प्रतिशत विवाहित देखिएको छ । विवाहित पुरुष र महिलाहरूको प्रतिशत क्रमशः ५९.१ र ६४.३ रहेको छ ।

त्यसैगरी १० वर्षभन्दा बढी उमेरका जम्माजम्मी ४.५ प्रतिशत व्यक्ति विधुर–विधवा रहेको, ०.२ प्रतिशतको पारपाचुके भएको र ०.४ प्रतिशत छुट्टिएर बसेका छन् । विधवा महिलाहरूको संख्या ८ लाख २६ हजार १४७ अर्थात दश वर्षमाथिका कुल महिलाको ६.६ प्रतिशत रहेको पाइएको छ ।

विगतको जनगणना २०६८ मा दश वर्षभन्दा माथिल्लो उमेरका जम्माजम्मी ३.२ प्रतिशत व्यक्ति विधुर–विधवा रहेको, ०.१ प्रतिशतको पारपाचुके भएको र ०.२ प्रतिशत छुट्टिएर बसेको अवस्था रहेको थियो ।

प्रदेशगत विश्लेषण गर्दा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा १० वर्ष वा सोभन्दा माथिको जनसंख्यामध्ये अविवाहितको संख्या धेरै (३४.७ प्रतिशत) र गण्डकी प्रदेशमा कम (३१.० प्रतिशत) रहेको छ । यसैगरी प्रदेशभित्रको वैवाहिक स्थितिको विश्लेषण गर्दा विधुर–विधवाको प्रतिशत गण्डकी प्रदेशमा सबैभन्दा बढी ५.६ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ३.९ प्रतिशत रहेको छ ।

१० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूको पहिलो पटक विवाह गर्न पुरा भएको उमेरको आधारमा पुरुष र महिलाको पहिलो विवाह गर्दाको औषत उमेर गणना गरिन्छ । यो सूचक जनसंख्याको प्रजनन्योग्य व्यवहारसँग पनि प्रत्यक्ष सम्बन्धित रहेको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४.४ प्रतिशत)को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको भएको छ ।

दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २२.३ प्रतिशत छन् । दश वर्षमूनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन् । यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत छन् भने पचास वर्षको उमेर पार गरिसकेपछि पहिलो विवाह हुनेहरू ३६४६ जना रहेका छन् ।

समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउँछ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ । लैङ्गिक आधारमा पहिलो विवाह गर्ने उमेरको विश्लेषण गर्दा ३२.६ प्रतिशत पुरुषको १८ देखि २० वर्षको उमेरमा र २६.८ प्रतिशतको २१ देखि २४ वर्षको उमेरमा, ३.१ प्रतिशतको १४ वर्ष मुनिको उमेरमा पहिलो विवाह भएको छ ।

महिलाको हकमा ३५.९ प्रतिशतको १८ देखि २० वर्षको उमेरमा पहिलो विवाह भएको छ । करिव ३०.४ प्रतिशत महिलाको १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह भएको छ भने १० देखि १४ वर्षको उमेरमा १०.२ प्रतिशत र १० वर्षमूनीको उमेरमा ०.५ प्रतिशत महिलाको पहिलो विवाह भएको छ । ८३३ जना महिलाको ५० वर्षको उमेरपछि विवाह भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १४:४३