सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी

नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए । ‘समर्थन फिर्ता लिने काठमाडौंबाट खबर आयो । सबै साथी बैठक बस्नलाई तयार छन् । आज बैठक बस्दैछौं’, चुमानले भने ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ०८:२१