पहाडे बारीका कान्लामा टाँसिएर बनेका फाट्ट फुट्ट घर छन् । केही जस्ताले ओत लागेका छन् । केहीले खरको घुम्टो ओडेर बसेका छन् । पुषको १५ वितेको छ । त्यो दिन दिनभरीनै पानी परेको छ । पारी लेकाली डाँडामा सेतै हिँउ परेको छ ।
हिँउबाट आएको सिरेटोले नराम्ररी सेकेको छ । पाखो बारी हिउँदे पानीले गलक्कै भिजेको छ । बर्षामा लाउन किनेका गम्बुट त्यो दिनपनि लगाएर भिजेको बारी भसाउदै हामी केटाकेटी हिँडेका थियौँ । कसैले काने टोपी लगाएका थिए । कसैले गमक्क परेका ज्याकेट लगाएका थिए । खेल्दै माइला काकाको घरमा पुगेका थियौँ ।
काकाको छोराले गोठ नजिकै झिँजा सल्काएर आगो दन्कायो । हामी केटाकेटी सबै त्यतै दगुरेर पुग्यौँ । साँझ पर्नै लागेको थियो । आगो ताप्न काकी पनि आइपुग्नुभयो । टोलका दुई चार जना अलिक बुझ्ने भनाउँदाहरु पनि आइपुगे । झिँजाको आ गो टोल नै उज्यालो हुने गरी दन्किरहेको थियो । त्यहीबेला उनीहरु काकीलाई हेर्दै कानेखुसी गरिरहेका थिए ।
साँझ अलिक छिप्पियो । काकाको छोरा र काकीले घरमै बस्न कर गर्नुभयो । भाई मसँग अलिक धेरै नै मिल्थ्यो । त्यो दिन अलिक धेरै चै भाईले नै बस्न ढिपि कस्यो । मैले नाई भन्न सकिन । हाम्रो घर र काकाको घर बोलाउदा सुनिने दुरीमा थियो । घरबाट कराएरै बोलाउने चलन थियो । मलाई दाईले बेस्सरी कराउँदै बोलाउनुभयो ।
काकीले यतै बस्छ है जवाफ फर्काउनुभयो । मलाई अलिक सजिलो भयो । अब घरमा बाहिर बसेकोमा बुबा, दाजुको डकाई खेप्न नपर्नेभयो । कार्की सलक्क अग्लो जीउ परेको हुनुहुन्थ्यो । अहिले गणना गर्दा त्यो बेला ३५–३६ बर्षको हुनुहुँदो रहेछ । काका वितेको तीन बर्ष नै भइसकेको थियो । त्यसैले काकीमा चिन्ताले अलिक बढ्यौली थपेको थियो ।
काकीले खाना पकाएर दिनुभयो । हामी एकछिन पढ्यौँ । एउटा कोठामा दुई दिदि सुत्नुभयो । काकी, भाई म र दुई बहिनी एउटै कोठामा सुत्यौ । दुई तले घर पहिलो तलामा भान्सा थियो । माथिल्लो तला एक ठाउँ बारेर दुई कोठा बनाइएको थियो । त्यतिबेला म नौं बर्षको रहेछु । अहिले १० बर्ष वितिसकेको छ ।
हामी सुतिसकेपछि अघि आगो ताप्न आएका पाँच–सात जना गाँउकै काकाहरु पर्ने घरमा कोठामा आए । तल्लो तलामा धेरै मानिस भेला भइसकेका रहेछन् । उनीहरु एकैचोटी कोठामा छिरेर पेट कसको बोकिस् भन्दै काकीलाई झपारी रहेका थिए । काकीले केही बोल्न सक्नुभएन । त्यही बेला त भाई र मैले पनि कुरै बुझिनौँ ।
पेट बोक्ने भन्ने शब्द त्यति बेला बुझ्न सकेको थिइन । एकछिनपछि गाउँकै चार–पाँच जना महिला आएर काकीलाई लतार्दै तल्लको तलामा झारे । काकी ठुलो स्वरले रुन थाल्नुभयो । त्यतिबेलासम्म हामी बाहिर आइसकेका थियौँ । तल आँगनको बीचमा काकीलाई सबैले झपार्दै थिए ।
पोई टोकेर अर्कैसँग सल्किँदै हाम्रो कुलघरानको नाक काटिस् हैन भन्दै महिलाहरुले पिटिरहेका थिए । काकीको पेट निक्कै ठुलो देखिएको थियो । पटुका बाँधेर छोप्दै हिँडेर हामीलाई कुहाइस् हैन भन्दै काकीलाई लतार्दै थिए । त्यत्तिकैमा पुरुषहरु बेस्सरी चर्किए । कसको हो ? कति महिनाको भयो ? काकी फेरी पनि केही जवाफ दिन सक्नुभएन ।
एक ठुला ठालु मानिएकाले पुलिस बोलाएर जेलमा कोचीदिने भन्दै धम्की दिए । त्यसपछि काकीले कुरा खोल्नुभयो । गाउँकै युवासँगको असुरक्षित सम्बन्धपछिको भुक्त रहेछ त्यो । सात महिना वितिसकेको रहेछ । रातारात ती युवालाई त्यही झिकाइयो । गाउँमा ठुलो भेला भयो । कचहरी बोलाइयो । सबै गाँउलेले ती युवक र काकीलाई उज्यालो नहुँदै गाँऊ छोड्नुपर्ने निर्णय सुनाए ।
गर्भे टुहुरी काखे नानी बेस्सरी रोई । काकीले पनि वलिद्र आँशुका धारा बगाउनुभयो । उहाँलाई त्यो रातपछि उज्यालो नफर्किदै डाँडा कटाइयो । आज दश बर्ष वितेको छ । उहाँ कहाँ हुनुहुन्छ । कुनै खोटखबर छैन । त्यो रातदेखि काकाका छोराछोरी आमाबाट जिउँदै टुहुरा बने । बाबु पहिले नै गुमाइसकेका थिए । काकी गलत नै भए पनि के समाजले चै न्याय गर्यो त ? काल्पनिक कथा
सत्यपाटी संवाददाता । काठमाडौं