नेपाल प्रहरीमा भावी प्रहरी महानिरीक्षक (आइजीपी)का लागि तीन एआइजीबीच कडा टक्कर देखिएको छ । आइजीपीका लागि प्रमुख दाबेदार मानिएका अशोक सिंह उमेर विवादका कारण डीआइजीबाटै राजीनामा दिन बाध्य भएपछि वसन्त कुँवरलाई प्रमुख दाबेदार मानिएको थियो ।
तर अन्तिम समयमा चौथो नम्बरमा रहेका श्यामलाल ज्ञवाली पनि आइजीपी बन्ने लाइनमा अगाडी देखिएका हुन् । ज्ञवालीले एआइजी सिफारिस भएसँगै शक्तिकेन्द्रमा लबिङ बढाएका थिए । उनको लबिङले पहिलो नम्बरमा रहेका कुँवर र तेस्रो वरियतामा रहेका दीपक थापालाई तनाव दिएको छ ।
सरकारले शुक्रबार आइजीपी बढुवा गर्नेछ । शनिबारदेखि हालका आइजीपी धिरजप्रताप सिंहको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनेछ । सिंह अन्तिम समयसम्म पनि ३० वर्षे हटाएर आइजीपीमा निरन्तर हुने कोसिसमा छन् । तर उनको प्रयास सफल हुने सम्भावना झिनो बन्दै गएको छ ।
सिंह अवकाश हुने निश्चित भएसँगै भावी आइजीपीका लागि प्रतिस्पर्धीबीच टक्कर देखिएको हो । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्यामलाल ज्ञवाली वा दीपक थापालाई आइजीपी बनाउने पक्षमा छन् । तर नेपाली कांग्रेस पहिलो नम्बरका वसन्त कुँवरलाई नै आइजीपी बनाउनुपर्ने पक्षमा देखिएको छ ।
यस्तै, तेस्रो नम्बरमा रहेका दीपक थापा पनि आफू नभए कुँवर नै आइजीपी हुनुपर्ने पक्षमा छन् । यसअघि कांग्रेस सत्ता बाहिर रहेकाले पनि थापा र ज्ञवालीको नाम बढी चर्चामा छ । कांग्रेसले विश्वासको मत दिएर सरकारमा सहभागी हुने भएपछि कुँवरका लागि दबाब बढाउने देखिएको छ । कुँवर डीआइजीमा पहिलो नम्बरमा बढुवा भएका थिए ।
यही सरकारले उनलाई पहिलो नम्बरमै एआइजीमा पनि बढुवा गरेको छ । तर आइजीपी वरियता अनुसार नै हुन्छ भन्ने निश्चित छैन । यसअघि पनि पछिल्लो वरियताकालाई सरकारले आईजीपी बनाएको थियो । कांग्रेस निकट मानिने कुँवर कांग्रेस सरकारमा फर्किएसँगै आईजीपी बन्ने सम्भावना बढी छ ।
वरियतामा अगाडी भएकाले पनि उनको सम्भावना सबैभन्दा बढी छ । तर ज्ञवालीले माओवादीका नेताहरुलाई भेटेर कन्भिन्स गरेका छन् । कुँवर र ज्ञवालीको टक्कर बढेपछि थापा पनि आफैं आइजीपी बन्न लबिङमा छन् । थापा उनीहरूभन्दा पाँच महिनापछि भर्ना भएका हुन् ।
यी दुईमध्ये एक आइजीपी बने भने पनि त्यसपछिका लागि थापा आइजीपी हुने सम्भावना कायम रहन्छ । यही बीचमा ३० वर्षे हट्ने भएकाले पनि थापाको आइजीपी बन्ने सम्भावना हुन्छ । तर उनी पनि यसैपटक आइजीपी बन्न कोसिस गरिरहेका छन् ।
दोस्रो वरियताका राई चुपचाप
आफूभन्दा पछिल्लो ब्याचका एआइजीहरू भावी नेतृत्वका लागि अग्रसर हुँदा दोस्रो वरियतामा रहेका एआइजी टेकप्रसाद राई भने चुपचाप देखिएका छन् । वसन्त कुँवरपछि वरियतामा राई अगाडी छन् । हालको सत्ता गठबन्धनले उनलाई आइजीपी बनाउने सम्भावना कम छ ।
त्यसो त राईले पनि लबिङ गरेका छैनन् । यसअघि डीआइजीबाट एआइजी हुने बेलामा सबै डीआइजीहरू काठमाडौं आएर लबिङमा लागे । पछिल्लो वरियताका डीआइजीहरूले पनि जोड गरे । तर लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका राईले भने कार्यक्षेत्र छाडेनन् ।
एआइजी बढुवाका लागि अरुभन्दा शान्त देखिएका थिए । तर पनि सरकारले राईको वरियता चलाएन र लगातार उनलाई दोस्रो वरियतामै बढुवा गरेको थियो । अहिले उनीभन्दा पछिल्लो वरियतामा रहेका दीपक थापा र श्यामलाल ज्ञवालीले जोड गरिरहँदा उनी भने चुपचाप छन् ।
पहिलो पटक महिला दाबेदार
नेपाल प्रहरीको नेतृत्वका लागि पहिलो पटक महिला दाबेदार देखिएको छ । एआइजी किरण बज्रचार्य नेतृत्वको दाबेदार बनेकी हुन् । यसअघि आइजीपीमा दाबेदार गर्ने गरी एआइजीसम्म महिला पुगेका थिएनन् । यसअघि पूजा सिंह जनपदतर्फ पहिलो महिला एआइजी भएकी थिइन् । तर उनी नेतृत्व लिने दाबेदार भने थिइनन् ।
डीआइजीबाटै अवकाश हुने अन्तिम समयमा एआइजी भएकी उनी बीचमै अवकाश भइन् । त्यसअघि डीआइजी पार्वती थापाले आइजीपीको लाइनमा थिइन् । तर सरकारले उनलाई एआइजी नै बढुवा गरेनन् । थापा पछि डीआइजीबाटै अवकाश भएकी थिइन् । त्यो लटमा उपेन्द्रकान्त अर्याल आईजीपी भएका थिए ।
आफ्ना ब्याचका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यसपटक किरण बज्रचार्य आइजीपीको दाबेदार बनेकी हुन् । उनले पनि भावी नेतृत्वका लागि लबिङ गरिरहेकी छन् । हालका आइजीपीसँगै उनका ब्याचका एआइजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी शुक्रबारदेखि अवकाश हुनेछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं