त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ विपरीत स्थगित भएका क्याम्पसमा चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिनुभएको छ ।
उपकुलपति प्राडा बास्कोटाले आइतबार दिउँसो विज्ञप्ति जारी गरी स्थगित भएका क्याम्पसको स्ववियु निर्वाचन गर्न निर्देशन दिएपछि निर्वाचन प्रक्रिया सुरू नभएका क्याम्पसमा निर्वाचन गर्ने वा नगर्ने विषयमा अन्योल भएको छ ।
केन्द्रीय निर्वाचन तथा अनुगमन समितिले फागुन तेस्रो साता जारी गरेको १३ बुदे निर्देशिकामा स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख गरेको थियो । निर्देशिकाको दफा १२ को उपदफा ८ मा चैत ५ गते स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख छ ।
तर, उपकुलपति डा. बास्कोटाले चैत १२ गतेभित्र स्ववियु चुनाव गरिसक्न आग्रह गर्नुभएको छ । ‘कुनै कारणवश शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन हुन नसक्ने अवस्था सिर्जना भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगित गरी ३० दिनभित्र मिति तोकी निर्वाचन गर्नुपर्नेछ’ –समितिले जारी गरेको निर्देशिकामा लेखिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ