काठमाडौं । सर्वोच्चले सर्वस्वसहित जन्मकैद सुनाएको ८ वर्षपछि माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । २०५५ साल असार १० गते ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्चले २०६६ साल पुसमा उनलाई सर्वस्वसहित जन्मकैद गरेको थियो । जन्मकैद पाएर पनि ढुंगेल पछिल्लो ८ वर्ष खुलेआम घुमिरहेका थिए । ललितपुरस्थित सातदोबाटोबाट पक्राउ परेका ढुंगेल अब १३ वर्ष जेल बस्नुपर्नेछ ।
अदालतले उनलाई ज्यान मुद्दामा २० वर्ष जन्म कैद तोकेको थियो । यसअघि नै २०५५ सालदेखि ०६३ बीचमा उनले सात वर्ष जेल सजाय भोगिसकेका छन् । २०६३ साल असारमा उनलाई पुनरावेदन अदालत राजविराजले सफाई दिएको थियो । पछि २०६६ सालमा सर्वोच्चले पुनरावेदन अदालतको फैसला बदर गर्यो । अब १३ वर्षअघि जेलबाट छुट्न ढुंगेलसँग एउटै मात्र बाटो छ । ढुंगेलको पार्टी माओवादी केन्द्र मिलेर बनेको वाम गठवन्धनले आउने चुनावपछि सरकार बनायो भने उसले ढुंगेलको कैद मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ । तर कानूनत त्यस्तो सिफारिस सरकारले ढुंगेल अब तीन वर्ष जेल बसेपछि मात्रै गर्न मिल्छ ।
कारागार व्यवस्था सम्बन्धी कानूनमा ५० प्रतिशत कैद भुक्तान गरेका र जेलमा पनि अनुशासनमा बस्ने व्यक्तिलाई कारागार प्रमुखको सिफारिसमा सरकारले बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने कानूनी व्यवस्था छ । तीन वर्ष जेल बसेपछि उनले पाएको २० वर्षे सजायको आधि पूरा हुन्छ । प्रत्येक वर्ष गणतन्त्र दिवसको दिन यस्ता कैदीको बाँकी कैद मिनाहा हुन्छ । यसअघि पनि बाबुराम भट्टराईको सरकारले ढुंगेललाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले आममाफी कार्यान्वयन गर्नुअघिनै अदालतले सरकारको निर्णय रोकेको थियो ।
त्यो बेला सर्वोच्चले ८ किसिमका मुद्दा फिर्ता गर्न र आममाफी दिन नमिल्ने भन्दै व्याख्या पनि गरेको थियो । कर्तव्य ज्यान, बलात्कार, मानवबेचविखन लगायत ८ किसिमका अपराध गम्भीर प्रकृतिका भन्दै तिनलाई सरकारले फिर्ता लिन नपाउने भन्यो । उज्जन हत्याको ८–९ महिनापछि ओखलढुंगास्थित ससुरालीबाट उनी पक्राउ परेका थिए । उज्जनलाई ढुंगेल र पुष्कर गौतमले गोली हानी मारेको भन्दै ओखलढुंगा जिल्ला अदालतले २०६१ साल वैशाखमा सर्वस्वसहित उनीहरूलाई जन्मकैद गरेको थियो ।
।