सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

वर्षौ खोज्दा पनि नभेटिएको ‘त्यो एउटा मानिस’

राणा शासन ढल्यो, पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो । प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो । तर, भेटिएनन् त्यो ‘एउटा मान्छे ।’

शिशिर योगीले गाएको एउटा गीत नेपाली मन–मथिङ्गलमा घुमिरहेको हुनुपर्छ, यो देशमा म एउटा मानिस खोजिरहेको छु…। डा. विश्वनाथको शब्द र संगीत रहेको यो गीतको शब्द मनन् गरेर मज्जाले सुन्ने हो भने मथिङ्गलमा झट्का लाग्छ ।

गीत पहिलो अन्तरा

छाडेर काम सारा एक काम खोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कोही बताउ, हे राष्ट्रका बटुही
रक्षार्थ जन्मिएर छन् कि सपूत कोही
यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु…

यो गीत सुनिरहँदा जो–कोहीको मनमा तरंग पैदा हुन्छ । र, अनेकन प्रश्नहरू जन्मन्छन् । तर, विश्वनाथले खोजेको ‘एउटा मानिस’ अहिलेसम्म भेटिएका छैनन् । कहिले भेटिएलान् ? त्यो पनि थाहा छैन । त्यो ‘एउटा मान्छे’ कस्तो होला ? कल्पनामा समेत चित्र कोरिँदैन । गीत सुनेर घोत्लिन्छु । र, देशको परिस्थिति नियाल्छु । देख्छु, व्याप्त निराशा र अन्यायको पहाड । छलकपटको सागर ।

कुसंस्कारको रास र बेथितिको चाङ । यहाँ, सबै ‘एउटा मान्छे’को खोजीमा छन् । महानमानवको खोजीमा । त्यो ‘एउटा मान्छे’ खोज्दाखोज्दै देश यहाँसम्म आइपुग्यो । अर्थात्, संघीय गणतन्त्रसम्म आइपुग्यो । राणा शासन ढल्यो, पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो । प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो । तर, भेटिएनन् त्यो ‘एउटा मान्छे ।’ अहिले जनताका सन्तान राष्ट्राध्यक्ष बन्छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । तर, जनताको छोरा राष्ट्रपति बन्दा जनतामै छैन उमङ्ग । जनताका छोरी विद्यादेवी भण्डारी सात वर्ष राष्ट्राध्यक्ष बने । सोमबार मात्रै उनी शीतलनिवासबाट बिदा भए । तर, सात वर्षमा जनताका छोरी राष्ट्रध्यक्षले जनताले गौरव गर्ने के पो गरे ? अहिले कांग्रेसका नेता जनताको छोरा राष्ट्रपति बनेका छन् । आठ–नौ दलका कार्यकर्ता खुशी होलान् ।

तर, जनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’जस्तै छ । जनताका सन्तान राष्ट्राध्यक्ष हुन थालेको डेढ दशकभन्दा बढी भयो । यो अवधिमा कुनचाहिँ राष्ट्राध्यक्षले जनताले गौरव गर्ने काम गरे ? सम्झनलायक काम के भयो ? संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि १४ पटक जनताका सन्तान प्रधानमन्त्री भए । सयौं मन्त्री भए । तर, मन्त्री, प्रधानमन्त्री जनताका बनेनन्, केवल दलका बने ।

कहिले कांग्रेसको, कहिले एमालेको, कहिले माओवादी । कहिले कुन, कहिले कुनको… । नयाँ बानेश्वरमा जनप्रतिनिधिद्वारा जनतालाई नाटक देखाइन्छ । जुन नाटकघरको भाडामात्रै जनताले वार्षिक १५ करोड बढी तिर्नु पर्छ । उक्त नाटकघरको शाखा प्रत्येक प्रदेशमा छ । त्यसको भाडा पनि जनताले नै तिर्छन् । अनि, ‘कलाकार’ (जनप्रतिनिधि)लाई वार्षिक सबा चार अर्ब रुपैयाँ पारिश्रमिक दिन्छन् ।

१५ करोडको नाटकघरमा चार अर्बको रमिता देखाइन्छ । रमिता पनि नभनौं तमासा देखाउँछन् । त्यहाँबाट सिक्ने भनेको तमासा र गाली कसरी गर्ने भन्नेमात्रै हो ! जब मनमा यस्ता कुराहरू कोरिँदै जान्छ, तब यी कुराप्रति मनमा घनघोर असहमति प्रकट हुन्छ । हो, देशमा व्यवस्था बदलियो । अवस्था ज्युँकात्यूँ । शासक फेरिए । शासन फेरिएन । आमजनताको आशा र अपेक्षामाथि कुठाराघात भयो । राजा हटे । महाराजा जन्मिए ।

उनीहरूको शान, मान र ऐश्वर्य भुइँमान्छेको लागि रमिता बन्यो । राजा महाराजाहरु नै पनि फ्लप खालान् ! यहाँ के छैन ? सबथोक छ । सबथोकमा राजनीति छ । स्वास्थ्यमा राजनीति, शिक्षामा राजनीति । न्यायमा राजनीति । भान्सामा राजनीति । राजनीतिमा पनि राजनीति छ । यी क्षेत्रमा राजनीतिक स्वार्थ र छलछामले जरा गाडेको छ । निष्पक्षता, योग्यता, सक्षमता, जनमुखी सेवा, जवाफदेहिता र समानतामा कालो बादल मडारिइरहेको छ ।

नेपाली जनाताले जन्मँदै ७० हजार विदेशी ऋणको भारी बोक्नुपर्छ । ऋण, बेरोजार र निराशाको भारी बोकेर युवाहरू समयसँग डेटिङ जान्छन् । जुनतारा टिपेर ल्याउने सपना देखाउँछन् । बेलुका त्यही सपना डकार्छन् । र, दुर्गन्धले निदाउनै सक्दैनन् । नेपाली युवा खाडीको गर्मीमा पसिना बेचिरहेका छन् । फर्केर आउँदा जिउँदै भइने हो कि कफिनमा आउनुपर्ने हो कुनै ठेगान हुँदैन ।

दिनभर काम गरेर बेलुका छाक टार्ने श्रमिक, विद्यार्थी, निम्न आय श्रोत भएका नागरिकलाई जिविकोपार्जन गर्नसमेत कठिन छ । तर, यहाँ महिनौँ, वर्षौँसम्म पनि राज्य र तिनका निकायहरू निकम्ममा बनेका छन् । जनताको आवाज बुलन्द हुने थलो संसद् शिथिल र बिमारी जस्ते लाग्छ । जहाँ जनताको आवाज होइन, राजनीतिक द्वन्द्व र प्रतिशोध मात्रै साँधिन्छ । अहिलेका शासक नातावाद, कृपावाद र फरियावाद विमुख बनेका छन् ।

लोकतन्त्रको नाम जप्दै लुटतन्त्र मच्चाइरहे छन् । लालसभित्र लोकतन्त्रको नाम जपिरहेका छन् । स्वार्थ र सत्ताको लागि कहिले जुट्छन्, कहिले फुट्छन् । स्वार्थ मिलुन्जेल सँगै हिँड्छन् । स्वार्थ बाझिएपछि सत्तोसराप गर्छन् । जनताको मुद्दा सधैँ धुलोमै मिसिन्छ । देशमा धेरैथरि समस्या छन् । देशको समस्या समाधान गर्ने नेता स्वयंम अहिले देशको मुख्य समस्या भएका छन् । देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व नै देशका लागि बोझ बनेका छन् ।

अहिलेको राजनीतिक परिदृश्यलाई हेर्दा न नेता बदलिने छाँट छ, न त राजनीतिक दल । राजनीतिक अस्थिरता नै अहिले नेपाली जनताको नियति बनेको छ । स्थिर भएर बसेका बदनाम पात्रहरूले निरन्तरता पाइरहनु पनि अर्काे नियति हो । नेपालीले २००७ सालदेखि अहिलेसम्म परिवर्तनका नाममा दुःखैदुःखको पहाड टाउकोमा बोकेका छन् । तर, ती दुःखको भारीभन्दा ठूलो नेताहरूको अहँकार र सामन्ती ढर्रा छ ।

त्यसले जनतालाई बढ्ता उद्वेलित तुल्याएको छ । एकथरिले वीपी कोइरालामा त्यो ‘एउटा मानिस’को बिम्ब खोजे, एकथरिले राजा महेन्द्रमा । राजनीतिक परिवर्तनसँगै ‘प्रचण्ड’मा पनि त्यो एउटा मान्छेको बिम्ब खोजियो । र, कसैले केपी ओलीमा पनि त्यो झल्को देखे । तर, खासमा कोहीसँग पनि त्यो एउटा मान्छे थिएन । यसरी नेपाली जनताले त्यो ‘एउटा मानिस’को खोजीमा करिब शताब्दी समय गुजारिसेका छन् । तर, फेला पार्न सकेनन् ।

जो जसलाई ‘एउटा मानिस’ बन्न सक्ने आधार दिए, तिनीहरूबाट धोकाबाहेक केही पाएनन् । जनता मात्रै होइन्, नेताहरू स्वयंम पनि ‘एउटा मान्छे’ बन्ने प्रयासमा लागेनन् । न त उनीहरु मानिस बन्ने प्रयास नै गरे । त्यसैले माथि उल्लेखित गीत नेपाली जनताका लागि सान्दर्भिक लाग्दैछ ।

स्रोत : दृष्टिन्यूज
प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १०:११