सूचनाको शक्ति - The Power Of Information

        

चट्याङको जोखिमबाट कसरी बच्ने ? यस्ता छन् उपाय

पछिल्लो समय चट्याङका घटना बढ्न थालेको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो (बिहीबार) मात्रै चट्याङबाट धनकुटा, संखुवासभा र पाँचथरमा गरी पाँच जना घाइते भएका छन् ।

चट्याङबाट वार्षिक एक सयभन्दा बढी मानिसले ज्यान गुमाउँदै आएका छन् भने यसको पाँच गुणाभन्दा बढी जनावरले ज्यान गुमाउँदै आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चैत महिनादेखि जेठसम्म बढी चट्याङ पर्ने भएकाले विशेष सतर्कता अपनाउन सबै सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्राधिकरणले भनेको छ, ‘सामान्यतया अपराह्न ३ बजेपछि चट्याङ पर्ने भएकाले बिहान काम गर्ने र यो वेला घरभित्रै बस्नुपर्छ ।’ प्राधिकरणका अनुसार चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट बच्न यी उपाय अवलम्बन गर्न सकिन्छ,

  • धातुबाट बनेका घर सुरक्षित हुन्छन् । धातुको सामान जस्तै (आल्मुनियम, तामा, जिआइका रड) घरको सबैभन्दा अग्लो भागमा राख्ने, सोही धातुका रड र पाता जोडेर जमिनसम्म पुर्याउने र तामाको रडसँग जोडी अर्थिङ गरे धेरै हदसम्म सुरक्षित हुन्छ ।
  • चट्याङ पर्दा घर बाहिर ननिस्किने ।
  • घरबाट बाहिर निस्किसकेको अवस्थामा पक्की घर, भ्यान, बसमा गएर बस्नुपर्छ । यदि यो अवस्थामा नभएमा अग्लो र एक्लो रूखमा ओत नलाग्ने, बरु रूखदेखि टाढा टुक्रुक्क बस्ने, खुला चौर भएमा टुक्रुक्क बसी टाउकोलाई दुई घुँडाको बीचमा राखी कान थुन्ने ।
  • घरभित्र रहँदा झ्यालढोका बन्द गर्ने र कोठाको बीचमा बस्ने ।
  • घरमा जोडिएका टीभी, वासिङ मेसिन, फ्रिज लगायत अन्य विद्युतीयको तार प्लगबाट छुटाउने ।
  • पानीको स्रोतमा सीधै नुहाउने र धुने नगर्ने ।
  • टेलिफोनमा कुरा नगर्ने ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार ०८:३८