सूचनाको शक्ति - The Power Of Information

        

बन्द भयो विराटनगरमा रहेको भारतीय क्याम्प


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय क्याम्प अफिस बन्द हुने घोषणा गरेको तीन दिनमै भारत सरकारले सो कार्यालय बन्द गर्ने औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै विराटनगरस्थित भारतीय क्याम्प अफिस स्थापनाको उद्देश्य पूरा भएकोले बन्द गरिने जानकारी दिएका हुन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैशाख २८ र २९ गते नेपाल भ्रमणकै क्रममा आफ्ना समकक्षी ओलीलाई यो विषयमा जानकारी गराइसकेका थिए । ‘कोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिको सामना गर्न सन् २००८ मा भारतीय दूतावासको क्याम्प अफिस खोलिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘जुन उद्देश्यका साथ सो क्याम्प अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । नेपालका प्रधानमन्त्रीले यो निर्णयप्रति प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको छ ।’
ओलीले पार्टी एकीकरणपछि संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा जेठ ५ गते प्रधानमन्त्री केपी शर्माले ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए । २०६५ भदौमा आएको बाढीले कोशी ब्यारेज भत्काएको थियो । त्यसपछि नेपालका सवारी साधनले भारतीय भूमि प्रयोग गर्नुपर्ने अबस्था आएको थियो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस स्थापना गरेको थियो ।
त्यस बेलादेखिको फिल्ड अफिस हालसम्म सञ्चालन भइरहेको थियो । सो अफिसले नेपालको संवेदनशील सूचना समेत नेपालसम्म पुर्याउने गरेको भन्दै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला त्यसलाई तत्काल हटाउन भारतीय दूतावासलाई पत्राचार नै गरेका थिए, तर भारतले नेपालको प्रस्ताव अस्वीकार गर्दै आएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०९:२१