सूचनाको शक्ति - The Power Of Information

        

कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिँदै


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताए । यहाँ आज यहाँ आयोजित साक्षात्कारमा उनले पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।
यातायातमन्त्री महासेठले चुरे तथा भित्री मधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने बताए ।
पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोड्ने, नदी किनारमा सडक निर्माण गर्ने, मेची–महाकाली, काठमाडौँ–वीरगञ्ज, रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने, कोशी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिने र यसलाई बजेट अभाव हुन नदिइने उनले स्पष्ट गरे ।
सञ्चारकर्मीको जिज्ञासामा उनले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा काम भएकाले केही समयका लागि बोलाइएको हो, सरुवा गरिएको होइन भने । मन्त्री महासेठले यातायात क्षेत्रलाई व्यवस्थित गरिने र यातायात विभाग अगाडि अब कुनै भीड नहुने जिकिर गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारको नीति तथा कार्यक्रम प्रचारमुखी रहेको आरोप लगाउँदै यो कार्यान्वयन हुन नसक्ने बताए । उनले नीति तथा कार्यक्रममा जनतालाई सपना मात्र बाँड्ने काम भएको आरोप पनि लगाए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०९:१३