सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डल विद्या भण्डारीले निजी बनाएपछि…

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल नीजि बनाएका छन् । गत २९ फागुनमा दुई कार्यकाल सकाएर शीतलनिवासबाट बिदा भएका भण्डारीले राष्ट्रपति कार्यालयको अफिसियल ट्वीटर ह्याण्डल आफ्नो नाम गराएका हुन् ।

‘प्रेसिडेन्ट अफ एनपी’ नामक ह्याण्डल अहिले विद्यादेवी भण्डारी बनाइएको छ । बिहीबार आइसीसी विश्वकप लिग २ मा यूएईलाई हराउँदै नेपाल विजयी भएपछि उनले सोही ह्याण्डलबाट बधाई समेत दिएका छन् ।

राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल नीजिकरण गरेपछि सामाजिक सञ्जालमा भण्डारीको सर्वत्र आलोचना भइरहेको छ । यसअघि पूर्व सभामुख ओनसरी घर्तीले पनि सभामुखको औपचारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि आलोचना भएको थियो ।

डा.रामेश कोइरालाले भण्डारीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आदरणीय पूर्वराष्ट्रपति जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्टभन्दा ६ गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु । एउटै सर्त चैँ तपाईँले पेवा बनाएको अकाउन्ट राष्ट्रपतिलाई हस्तान्तरण गर्नु रहेको छ । मञ्जुर भए डिएम वा फोन गर्नुहोला ।’

त्यस्तै अर्का एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘मन्त्री क्वाटरबाट मन्त्रीहरुले विभिन्न सामान घर लाने गरेको समाचार यसअघि सार्वजनिक भइरहन्थे । तर यसपटक भने पूर्वराष्ट्रपतिले ट्वीटर ह्यान्डल नै लानुभएछ ।’ २५ गते राष्ट्रपति निर्वाचित भएका रामचन्द्र पौडेलले २९ फागुनमा शपथग्रहण गरेसँगै सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेका थिए ।

सरकारी उच्च पदमा बहाल भएका बेला सम्बन्धित कार्यालयले प्रयोग गर्ने सामाजिक सञ्जालका विवरण पनि राष्ट्रिय सम्पत्ति भएकाले पदबाट मुक्त भएसँगै उत्तराधिकारीलाई हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । तर भण्डारीले भने त्यो परम्परालाई तोडेका हुन् । भण्डारीले प्रयोग गर्दै आएको ह्यान्डल भण्डारीकै सचिवालयले बनाएको भन्दै फिर्ता गर्न इन्कार गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:५२