सूचनाको शक्ति - The Power Of Information

        

किन आकाशतिर फर्केर पानी माग्छ काकाकुल चरा ?

काकाकुल एक किसमको चरा हो । नेपाली साहित्यमा काकाकुलको चर्चा गर्ने गरिन्छ । यदि यो चरालाई धेरै तिर्खा लागेको छ र यसलाई सफा पानीको तालमा छाडियो भने पनि यसले त्यहाँको पानी पिउँदैन । बरू चुचुरो बन्द गर्दछ ताकि तालको पानी मुखमा पस्न नपाओस् । यो चरा मुख्यतया एसिया र अफ्रिका महादेशमा पाइन्छ । यसलाई संस्कृत भाषामा चातक भनिन्छ ।

‘एक एव खगो मणि चिरञ्जीवतु चटकम् । मृयेते वा पिपसार्थे याछते वा पुरंदरम् ।’

अर्थात्, ‘चातक यस्तो स्वाभिमानी पंक्षी हो कि तिर्खा लागे पनि वा मर्न लागे पनि उसले सधैं इन्द्रलाई प्रार्थना गर्छ । उसले जहिलै पनि वर्षाको पानी मात्र पिउँछ, अरू कुनै स्रोतबाट होइन ।’ पौराणिक कथा अनुसार चातक (काकाकुल) चराले स्वाति नक्षत्रमा परेको पानी पृथ्वीमा नपरीकन ग्रहण गर्ने भएकाले त्यसको पर्खाइमा आकाशतिर हेरिरहन्छ ।

ऊ तिर्खाइ रहन्छ । तर पोखरीले पोखरीको पानी स्वीकार गर्दैन । चातक चरालाई भारतको उत्तराखण्डको गढवाल क्षेत्रमा चोली भनिन्छ । जसको बोरमा विश्वास छ कि आकाशतिर नियालेर काकाकुलले ‘सरग दिँदा पाणी दे पाणी दे’ भन्दै चिच्याउँछ । अर्थात् ‘आकाश दाई पानी देऊ, पानी देऊ’ भन्दै चिच्याउने गर्छ ।

पश्चिम नेपालमा यसको अर्को रोचक कथा रहेको छ । त्यहाँको गाउँमा एउटी वृद्धा आफ्नो जवान छोरी र बुहारीसँग खुसीसाथ दिन बिताइरहेकी थिइन् । उनले बुहारी र छोरीमा कुनै विभेद गर्दिनथिन् । दुवैलाई एउटै खाना खुवाउने र एउटै काम गराउन लगाउँथिन् । न कुनै झगडा, न कुनै ईर्ष्या ।

दुईमा फरक यतिमात्र थियो कि बुहारीले आफ्नो काम पूरा इमान्दारी र लगनशीलताका साथ गर्थिन् भने छोरी जतिसक्दो काम ठग्न खोज्थिन् । यसका लागि उनकी आमाले उनलाई पटक–पटक हप्काउने गर्थिन् । तर छोरीमा त्यसको कुनै असर पर्दैनथ्यो । एक समय गर्मीको मौसममा खेत जोत्न लैजाँदा गोरूहरू निकै थकित र तिर्खाएका थिए ।

बुढीले गोरु तिर्खाएको बुझिन् तर घरमा गोरुलाई खुवाउन पर्याप्त पानी थिएन । गोरुको तिर्खा मेटाउने एउटै उपाय गाउँबाट करिब डेढ किलोमिटर टाढा रहेको गढेरे पहाडी खोलामा लैजानु पर्ने थियो । तर पानी खुवाउनै पर्ने थियो । बुढीले पानी लिन बुहारीलाई पठाउने कि छोरीलाई भन्ने सोचिन् । दुवैलाई पठाउनु उनलाई उचित लाग्यो र उनले दुवैलाई एउटा अफिर दिइन् ।

दुईवटा गोरूमध्ये एकएक ओटा गोरूलाई परको खोलामा लगेर पानी पिलाएर ल्याउन आमाले अफर गरिन् । जसले छिटो पानी पिलाएर ल्याउँछ उसलाई घरमा खिर खुवाउने आमाको अफरलाई दुवैले स्वीकार गरे । आमा घर गइन् । सोझी बुहारी इमान्दारीपूर्वक गोरूलाई खोलामा पानी पिलाउन हिँडिन् भने छोरी भने अनेक बहाना सोच्न थालिन् ।

उनको मनमा कतिबेला घर पुगेर खिर खान पाइएला भन्ने मात्रै ध्यान थियो । अनि उनले जुक्ति निकालिन् । भाउजुलाई छुट्टाछुट्टै खोलामा गोरू लिएर जाने जो पहिले पुग्छ उसलाई पुरस्कार दिने उल्लेख गरियो । भाउजुले हुन्छ भनिन् । अलगअलग बाटो गएपछि छोरीको मनमा पाप पलायो । यो पशु त हो यसले बोल्न सक्दैन भनेर उनी खोलामा नगई घरतिरै लागिन् ।

घरमा पुगेर आफू पहिले आइपुगेको भन्दै आमासँग खिर मागिन् । उता तिर्खाले गोरू भने जीर्ण भइसकेको थियो । आफूलाई पानी नपिलाई ल्याएकी छोरीले खिर खाएको देखेको गोरू तिर्खाले मृत्युको मुखमा पुगेको थियो । उसले मर्नेबेलामा आफूलाई जस्तै पानीको तिर्खाले तड्पिनु परोस् भनेर श्राप दिएर गोरू मर्यो । भनिन्छ, गोरुको श्रापका कारण युवती तत्कालै काकाकुल भइन् ।

उनले पोखरीमा पानीको सट्टा रगत देख्न थालिन् । उनले केवल आकाशबाट आएको पानी मात्रै पानी देख्न थालिन् । जसले गर्दा उनी जहिलै पनि आकाशतिर बसेर पानी मागिरहने गरेकी हुन् भन्ने किंवदन्ती छ । यस्तो किंवदन्ती रहेको भए पनि कतैकतै यो रूखको टोड्काको पानी मात्रै खाने र सुख्खायाममा टोड्काको पानी सुक्ने भएकोले पानी देउ पानी देउ भनेर रुने गरेको भन्ने कथा पनि प्रचलनमा छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:०३