सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेको राहदानी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानी विवादबारेको अनुसन्धान प्रहरीले सकाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

सरकारी वकिल कार्यालयले अहिले फाइलको अनुसन्धान गरिरहेको छ । ‘यही हो भन्ने निर्णयमा पुगेका छैनौं । तर, फाइल प्रहरीबाट आएको छ,’ सरकारी वकिल कार्यालयका एक अधिकृतले भने ।

नागरिकता विवादमा फसेका लामिछानेले अमेरिकाको राहदानी र नेपालको राहदानी दुवै लिएर कानुनको दुरुपयोग गरेकोसमेत आरोप लागेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रविको नागरिकतालाई लिएर निर्वाचन अगाडि नै उजुरी परेको थियो ।

त्यसपछि विवाद अदालतमा पुगेको थियो । सर्वोच्चले नागरिकता विवादमा माघ १३ गते गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो । संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको थियो ।

त्यससँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका थिए । अधिवक्ता युवराज सफलले लामिछाने विरुद्ध उजुरी दिएका थिए । सुरुमा उजुरी दर्ता नगरेको प्रहरीले सरकारी वकिल कार्यालयले अनुसन्धान गर्नु भनेपछि प्रक्रिया अगाडी बढाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले सरकारी वकिलसँग परामर्श भइरहेको बताए । सरकारी वकिल कार्यालयमा पुगेको अनुसन्धान फाइल चित्त नबुझेको खण्डमा कार्यालयले पुनः प्रहरीलाई पठाउन पनि सक्नेछ । यदि अनुसन्धान चित्त बुझेको खण्डमा मात्र अदालतमा मुद्दा दर्ता हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १८:०९