सूचनाको शक्ति - The Power Of Information

        

शरीरको तौल घटाउन के खाने ?

आधुनिक जीवनशैलीले मानिसलाई दिएको सबैभन्दा ठूलो समस्यामध्ये एक हो मोटोपन । मोटोपनले दैनिक जीवनलाई कष्टकर बनाउने मात्रै होइन, यसले धेरैथरीका रोगहरुलाई पनि निम्तो दिइरहेको हुन्छ ।

हालसम्म मोटोपनलाई कुनै पनि रोगको श्रेणीमा राखिएको छैन । तर यो कुनै पनि रोगभन्दा कम होइन । मोटोपनले उच्च रक्तचाप, मधुमेह जस्ता रोग निम्त्याउँछ । मोटोपनका कारण १३ प्रकारका क्यान्सर हुने खतरा अध्ययनमा देखिएको छ ।

असन्तुलित खानपान र शारीरिक परिश्रम नगर्ने बानीका कारण मोटोपन विशेषागरी शहरी क्षेत्रमा ठूलो समस्या बनेको छ । केही खानेकुरा र पेय पदार्थको दैनिक प्रयोगले मात्र पनि मोटोपनको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मानिस मोटाउनुका पछाडि थुप्रै कारणहरु हुन्छन् । तीमध्येका एक प्रमुख कारण चाहिँ अस्वस्थकर, असन्तुलित र अनियन्त्रित खानेकुरा खानु पनि हो । त्यसैले मोटोपन घटाउन कष्टकर शारीरिक अभ्यास एवं व्यायामहरुमा भन्दा खानपिनमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

थुप्रै अध्ययनहरुले स्थापित गरेको निर्विवाद सत्य के हो भने फलफूल तथा अन्य केही खानेकुराहरुको सेवन शरीरको लागि स्वस्थकर हुन्छ । यसै मेसोमा विज्ञहरुले शरीरको तौल घटाउन पनि फलफूल लगायतका खानेकुराहरु सहायक सिद्ध हुने तथ्य औंल्याएका छन् ।

एभाकाडो – शरीरको तौल सन्तुलित बनाउन उपयोगी प्रमुख फलहरुको सूचीमा एभाकाडो पहिलो नम्बरमा आउँछ । पोषणले भरिपूर्ण यो फलको नियमित सेवनले मुटु सम्बन्धी रोगहरुबाट बचाउने कुरा सन् २०२२ मा गरिएको एक अध्ययनले देखाएको छ । अमेरिकी हार्ट एसोसिएसनको जर्नलमा सो अध्ययन रिपोर्ट प्रकाशित छ ।

त्यसैगरी सन् २०२१ मा गरिएको अर्को अध्ययनले पनि एभाकाडोले महिलाको कम्मर वरिपरि जम्मा हुने बोसोलाई घटाउन सहयोग गर्ने देखाएको छ । एभाकाडोको फाइदा जानेरै अहिले पश्चिमा मुलुकहरुमा यसको लोकप्रियता र खपत निक्कै बढ्दै गइरहेको छ ।

स्ट्रबेरी – तौल घटाउन सहयोग पुर्याउने फलको सूचीमा स्ट्रबेरीको पनि नाम आउँछ । यसबारेमा व्यवस्थित अध्ययनहरु त भएका छैनन् तर यसमा पाइने पोषणहरुको सूची हेर्दा विज्ञहरुले यो फल पनि तौल घटाउन उपयोगी हुने दाबी गर्दै आइरहेका छन् । स्ट्रबेरीमा प्रचुर मात्रामा घुलनशील फाइबर तत्त्वहरु पाइन्छन् ।

त्यसैगरी, एन्टिअक्सिडेन्टको पनि खानी मानिने स्ट्रबेरीमा कम मात्रामा गुलियोपना र क्यालोरी हुन्छ । क्रिटिकल रिभ्युज इन फुड साइन्स एण्ड न्युट्रिसन जर्नलमा प्रकाशित एक समीक्षामा स्ट्रबेरी खानुका फाइदाबारे उल्लेख गरिएको छ । एन्टिइन्फ्लेमेटोरी (सुन्निने र दुख्ने समस्यालाई कम गर्ने) गुण समेत भएको यो फलले रगतमा चिनीको मात्रामा कम गर्ने तथा मुटुको रोगहरु लाग्नबाट समेत बचाउने गर्छ ।

खरबुजा – तौल घटाउन वा शरीरको तौल बढ्न नदिनको लागि खानुपर्ने फलफूलको सूचीमा पर्ने अर्को फल हो, खरबुजा । गर्मी मौसममा शीतलता प्रदान गर्ने, तिर्खा मेटाउने तथा शरीरमा पानीको आपूर्तिलाई सन्तुलित राख्ने फलको नाम हो खरबुजा ।

सन् २०१९ मा जर्नल न्युट्रिएन्ट्समा प्रकाशित एक अध्ययन रिपोर्टका अनुसार खरबुजाले शरीरको उचाइको अनुपातमा हुनुपर्ने शरीरको जम्मा तौल, कम्मर भागको अनुपात तथा माथिल्लो रक्तचापलाई नियन्त्रित गर्न भूमिका निर्वाह गर्छ ।

अत्यन्तै पोषणदायी फल मानिने खरबुजामा ९२ प्रतिशत पानी हुन्छ । बाँकी भाग चाहिँ ठोस हुने गर्छ । अत्यधिक मात्रामा झोलिलो हुने यो फल भिटामिन र मिनरलहरुले भरिपूर्ण हुने गर्छ । यसमा भिटामिन ए, भिटामिन बी ६ र सी, लाइकोपिन, एमिनो एसिड, पोटासियम, शरीरको विकारलाई नष्ट गरिदिने एन्डिअक्सिडेन्ट जस्ता तत्त्वहरु पाइन्छन् ।

भोगटे – अत्यन्तै रसिलो र स्वादिलो हुने, सुन्तला र कागतीको स्वादको मिश्रणको अनुभूति दिने भोगटे भिटामिन, मिनरल र पोषणले भरिपूर्ण हुने गर्छ । जोन हप्किन्स मेडिसिनका अनुसार यो फलले शरीरको इन्फ्लेमेसन घटाउन तथा रक्तचापलाई सन्तुलित राख्न सहयोग गर्छ । भोगटेमा प्रशस्त मात्रामा फाइबर पनि पाइन्छ ।

यसले आन्द्रालाई स्वस्थ राख्न पनि सहयोग गर्छ । भोगटेले आन्द्रामा हितकारी ब्याक्टेरियाहरुको वृद्धिमा सहयोग गर्छ । त्यसबाहेक, यसले खराब कोलेस्ट्रोल बढ्न दिँदैन । भोगटेको सेवन गरेपछि हामीलाई अघाएको अनुभूति हुन्छ, चाँडोचाडो भोक लाग्न दिँदैन । शरीरमा खानेकुराको अनावश्यक खपत नभएपछि स्वाभाविक रुपमा त्यसले शरीरको तौललाई बढ्न पनि दिँदैन ।

भुइँकटहर – तौल घटाउन वा मोटोपन हुन नदिन अर्को उपयोगी फल हो भुइँकटहर । पोषणको खानी भुइँकटहरको नियमित सेवनले हाम्रो पाचन प्रणालीलाई नियमित र स्वस्थ राख्न सहयोग गर्छ। यसले आन्द्राको क्यान्सरको जोखिमलाई पनि कम गर्छ ।

भुइँकटहरमा तौल घटाउन सघाउने गुण पनि हुन्छ । सन् २०१८ मा प्रकाशित एक अध्ययन रिपोर्टका अनुसार, भुइँकटहरमा बोसो काट्ने गुण हुन्छ । यसले अत्यधिक चिल्लो र बोसोयुक्त खानेकुराहरुका कारण हुने मोटोपनलाई नियन्त्रण गर्ने गर्छ ।

सुन्तला – मोटोपनको समस्याबाट छुटकारा पाउन दैनिक सेवन गर्नुपर्ने खानेकुरा हो सुन्तला । सुन्तलामा अधिक मात्रामा भिटामिन सी पाइन्छ, जसले शरीरमा ‘मेटाबोलिजम’ बढाउँछ । यसको जुस पिउनाले बोसो छिटै घट्छ । दिनचर्यामा सुन्तला समावेश गर्नाले प्रतिरक्षा प्रणालीमा पनि सुधार आउँछ ।

ग्रीन टी – ग्रीन टीमा क्याटेचिन पाइन्छ । यसले तौल घटाउने काम गर्छ । यसको फाइदा भनेको मेटाबोलिजम राम्रो हुन्छ । यसले मोटोपना घटाउन मद्दत गर्छ । अतिरिक्त क्यालोरीहरू नष्ट गर्छ । अनुहारमा चमक ल्याउँछ ।

मेथी – मेथीको पानीले तौल घटाउन पनि मद्दत गर्छ । मेथीपानी हरेक दिन बिहान पिउन सकिन्छ । यसका लागि मेथीको दाना रातभर भिजाउने र बिहान दाना निकालेर पानी खाली पेटमा खाने गर्नाले पनि मोटोपनको समस्याबाट छुटकारा पाउन धेरै सहयोग पुग्छ ।

कागती पानी – कागती पानीले पाचन प्रणालीलाई ठीक गर्छ । यसले प्रतिरक्षा प्रणालीलाई बढाउँछ । यसले शरीरको अतिरिक्त क्यालोरी नष्ट गर्छ । कागतीमा एन्टिअक्सिडेन्ट र पेक्टिन फाइबर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ । यसले चाँडै बोसो घटाउँछ, जसले गर्दा तौल कम गर्न सहयोग पुग्छ ।

दही – दहीमा ल्याक्टिक एसिड ब्यासिलस पाइन्छ । स्वस्थ ब्याक्टेरियाले पाचन सुधार गर्न मद्दत गर्दछ । यो आन्द्रा को लाग िधेरै लाभदायक छ । गर्मीको मौसममा हरेक दिन दही सेवन गर्दा तौल घटाउन मद्दत गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १५:४०