सूचनाको शक्ति - The Power Of Information

        

देवताकै नाममा भ्रष्टाचार

पशुपतिनाथ मन्दिरको ‘दान पेटिका’ दुई घण्टा गायब !

दान पेटिका गायब हुँदा कति रकम हरायो भन्ने कसैलाई थाहा छैन । किनकी, पशुपतिमा डिजिटल दानको मात्रै दान गर्ने वित्तिकै थाहा हुन्छ ।

देवताकै नाममा भ्रष्टाचार हुन्छ भन्दा कसैलाई पनि विश्वास नलाग्न सक्छ । तर, हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा त्यस्तै हुँदै आएको छ । पशुपतिनाथ मन्दिर परिसरमा अनेक नाममा भ्रष्टाचार हुँदै आएको सार्वजनिक सञ्चार माध्यमबाट बेलाबेला सार्वजनिक हुँदै आएको छ ।

पछिल्लो समय भने ‘दान पेटिका’बाटै भ्रष्टाचार हुने गरेको खुलासामा भएको छ । पशुपतिनाथ मन्दिरभित्र एउटा दान पेटिका राखिएको छ । मूल मन्दिरमा पूजा गर्न पुग्ने दर्शनार्थीले उक्त पेटिकामा चाहेअनुसारको दान गर्दै आएका छन् । सोही दान पेटिका बेलाबेला गायब हुने गरेको छ ।

करिव एक महिना अगाडि सोही दान पेटिका दुई घण्टा गायब गरिएको छ । दान पेटिका गायब भएको घटना गुपचुप राख्न खोजिएको थियो । तर, दानपेटिका गायब पारिएको घटना पशुपति क्षेत्रमा फैलिएपछि घटनालाई साम्य पार्न पशुपति क्षेत्र विकास कोषले छानविन समिति गठन गरेको बुझिएको छ । तर, कोषले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापा दान पेटिका दुई घण्टासम्म हराएको स्वीकार गर्छन् । र, छानविन भइरहेको बताउँछन् । सदस्य सचिव थापाले भने, ‘करिव एक महिना अगाडि दान पेटिका दुई घण्टासम्म हराएको हो । हामीले छानविन समिति गठन गरेका छौं । समितिले तयार पारेको प्रतिवेदन छिट्टै सार्वजनिक गर्छौ ।’

स्रोतका अनुसार समितिले कोषलाई प्रतिवेदन बुझाइसकेको छ । छानविनका क्रममा मिलेमतोकै आधारमा दान पेटिका गायब बनाइएको तथ्यहरु फेला परेको छानविन समितिका एक सदस्यले बताए । उनले भने, ‘यो काममा कोषको उच्च नेतृत्वदेखि सुरक्षाकर्मी र मन्दिरभित्र काम गर्ने सामान्य कामदारसम्मको मिलेमतो देखिएको छ । हामीले सोही अनुसार प्रतिवेदन बुझाएका छौं ।’

दान पेटिका गायब हुँदा कति रकम हरायो भन्ने कसैलाई थाहा छैन । किनकी, पशुपतिमा डिजिटल दानको मात्रै दान गर्ने वित्तिकै थाहा हुन्छ । पेटिकामा राखिने दान भने एकैपटक गन्ने गरिन्छ । छानविन समितिको प्रतिवेदन सार्वजनिक हुँदा आफै अप्ठ्यारोमा परिने डरले कोषका नेतृत्वले समितिको प्रतिवेदन सार्वजनिक गर्न नसकेको समितिका ति सदस्यले बताउँछन् ।

मूल मन्दिरको सुरक्षाको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइएको छ । मूल मन्दिर परिसरमा चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ हुन्छन् । तर, सुरक्षाकर्मीको बाक्लो घेराबाटै दान पेटिका गायब भएपछि सुरक्षाकर्मी समेत मिलेमतोमा रहेको बुझ्न मुस्किल पर्दैन । मन्दिरभित्र सीसीटीभी जडान गरिएको भए पनि उक्त सीसीटीभीले काम गरिरहेको छ या छैन भन्ने अहिलेसम्म कसैलाई थाहा छैन ।

त्यसैले मिलेमतोमै दान पेटिका गायव गरिएको आशंका गरिएको छ । मन्दिरभित्र सर्वसाधारणलाई क्यामेरा प्रयोग गर्न निषेध गरिएको छ । धार्मिकस्थल पशुपतिमा ठूलो मात्रामा भ्रष्टाचार हुँदै आएको केही समयअघि पर्यटनमन्त्री सुदन किरातीले नै खुलासा गरेका थिए । मन्त्री बनेपछि पशुपतिनाथ अनुगमन गर्न पुगेका मन्त्री किरातीले भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको सुनेको भन्दै कारबाही गर्ने चेतावनी दिएका थिए ।

हाल डा. मिलनकुमार थापा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव छन् । थापाकै नेतृत्वमा पशुपति क्षेत्रमा अनियमितता भइरहेको आरोप लाग्ने गरेको छ । पशुपति क्षेत्र आसपासका विभिन्न कामका लागि हुने बोलपत्र लगायतमा समेत चलखेल हुने गरेको बुझिन्छ । पछिल्लो समय कोषले भिडियोग्राफी सम्बन्धी दुई वटा बोलपत्र आह्वान गरेको छ । कोषले बोलपत्र आह्वान गरेसँगै उक्त काम हात पार्न गिरोहरु सक्रिय भएको समेत बुझिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १३:१९