पछिल्लो समय नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटना दिनहुँ बढ्दै गएका छन् । मुलुकका प्रमुख नाका वा सीमानामा यस्ता घटना निरन्तर हुने गरेको पाइएको छ । प्रायजसो बालबालिका, किशोर–किशोरी, महिला तथा पुरुष बेचबिखनमा पर्ने गरेको पछिल्लो तथ्ंयाकले देखाउँछ ।
त्यसमा पनि मानव बेचविखन तथा ओसारपसारमा संलग्न व्यक्तिहरुले उनीहरुको बाध्यताको फाइदा उठाई रोजगारीको प्रलोभनमा बेचविखन गर्ने गरेको पाइएको छ । कतिपय घटनामा मानव तस्करहरुले बेचविखन गर्ने उद्देश्य राख्दै विदेशी नागरिकसँग विवाह समेत गराइदिएको तथ्य बाहिर आएको छ ।
यसरी विवाहपछि वीरगञ्ज नाका हुँदै भारतीय राजधानी दिल्ली लगायत ठूला सहरमा पुर्याएर जबरजस्ती अनैतिक तथा गैरकानूनी कार्यमा लगाउने गरेको पनि पाइएको छ । यता मानव बेचविखनविरुद्ध कार्यरत नेपाल र भारतका माइती नेपाल, आस्था नेपाल, माहिर, किन लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाको सक्रियतापछि पनि यस्ता अपराधिक घटनामा प्रभावकारी ढंगले कमी आउन सकिरहेको छैन ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०७७–०७८ को तथ्याङ्कले मानव बेचविखन तथा ओसारपसारका १३४ मुद्दा प्रहरीमा दर्ता भएको देखाउँछ । त्यस्तै, मानव बेचविखन तथा ओसारपसारमा संलग्न १११ पुरुष र ५१ महिला पक्राउ परेका छन् । सोही समयमा ९१ पुरुष र ४४ महिला फरार भएको, २०२ पुरुष र ९५ महिला मानव बेचविखनमा अभियुक्त तथा दोषी ठहर भएको र ४ पुरुष र १८३ महिला पीडित भएको समेत तथ्यले देखाउँछ ।
त्यस्तै, आर्थिक २०७८–०८९ मा भने १४२ मुद्दा दर्ता भएका छन् । जसमा ११ पुरुष र २०० महिला पीडित पाइएको छ भने २०९ पुरुष र ७५ महिला दोषी ठहर भएका हुन् । सोही समयमा प्रहरीले १२९ पुरुष र ४६ महिलालाई पक्राउ गरेको छ भने ७० पुरुष र २९ महिला फरारको सूचीमा छन् । चालु आर्थिक वर्ष २०७९–०८० को माघ मसान्तसम्म मानव बेचविखन तथा ओसारपसारका ८१ मुद्दा मात्र प्रहरीमा दर्ता भएको देखिन्छ ।
यो अवधिमा त्यस्ता कार्यमा संलग्न ७३ पुरुष र ३८ महिला पक्राउ परेका छन् भने ३८ पुरुष र २४ महिला फरार छन् । यसैगरी १११ पुरुष र ६२ महिला दोषी ठहर भएकोमा ११ पुरुष र १०३ महिला पीडित रहेको पाइएको छ । यस्तै, आर्थिक वर्ष २०७८–०७९ मा मानव बेचविखन तथा ओसारपसारका घटनामा १८ वर्ष मुनिका १ बालक र ८२ बालिका (कुल संख्या ८३) र १८ वर्षमाथिका १० पुरुष र ११८ महिला (कुल संख्या १२८) पीडित भएका हुन् ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म भने यो संख्यामा सामान्य कमी आएको छ । उक्त समयमा १८ वर्ष मुनिका १ बालक र ३९ बालिका (कुल संख्या ४०) र १८ वर्ष माथिका १० पुरुष र ६४ महिला (कुल संख्या ७४) जना पीडित छन् । मानव बेचविखन सभ्य समाजले परापूर्वकालदेखि अस्वीकार गरी आएको फौजदारी कसुर हो ।
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा ९१० अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून बमोजिम बाहेक मानिसको अंग झिक्ने, वेश्यागमन गर्नुलाई मानव बेचविखन तथा ओसारपसार मानिन्छ ।
साथै, सोही ऐनको उपदफा ९२० मा कसैले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, प्रपञ्ज मिलाई, जबरजस्ती गरी, अपहरण गरी, शरीर बन्धक राख्ने लगायत कार्यमा बन्देज लगाइएको छ ।
नेपालको संविधानको मौलिक हकअन्तर्गतको धारा २९ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बन्धक बनाउन पाइँदैन । साथै, कसैलाई पनि उसको इच्छाविरुद्धको काममा लगाउन नपाइने बारे पनि स्पष्ट पारिएको छ । तर, सीमित व्यक्तिले आफ्नो फाइदाको निम्ति कानूनको पालना नगरी त्यस्ता गैरकानूनी कार्यहरु गर्दै आएका छन् ।
मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीका अनुसार पछिल्लो समय मानव बेचविखन तथा तस्करीका घटना बढ्दो क्रममा छन् । उनले वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै मानव तस्करीका घटना पनि बढ्दै गएको बताए । दिनहुँ ३ देखि ४ वटा तथा महिनामा १०० भन्दा बढी मानव तस्करीका उजुरी ब्यूरोमा दर्ता हुने गरेको उनको भनाइ छ ।
उनले भने, ‘अधिंकाश अशिक्षित व्यक्ति आर्थिक अभावका कारण वैदेशिक रोजगारीको खोजीमा विदेशिन खोजेको पाइन्छ । त्यही बाध्यतालाई कन्सलटेन्सीलगायत वैदेशिक रोजगार कम्पनीले उनीहरुसँग मोटो रकम असुलेर विभिन्न प्रलोभनमा पारेर विदेश पठाई उनीहरुलाई अलपत्र पार्ने गरेका छन् ।’ अशिक्षित, बेरोजगार र आर्थिक अवस्था कमजोर भएका व्यक्ति प्रायः तस्करीमा पर्ने गरेका छन् ।
विमानस्थलबाट दिनहुँ तीनदेखि त्यस्ता तीनदेखि चार जनाको उद्धार गर्ने गरेको उनको भनाइ छ । यसरी उद्धार गरिएका व्यक्तिको पासपोर्ट एक दिन नियन्त्रणमा लिएपछि प्रहरी र सम्बन्धित निकायका अधिकारीहरुले उनीहरुलाई सम्झाएर आफ्नो थलोमा फर्काउने गरेको पाइएको छ । प्रवक्ता पंगेनीले मानव बेचविखन तथा तस्करीका घटना बढ्दै गएको बताउँदै यसबाट सचेत हुन नागरिकलाई आग्रह गरे ।
कसैको विश्वास वा आकर्षक तलब र रोजगारीको प्रलोभनमा परी वैदेशिक रोजगारीमा नजान उनको सुझाव छ । आर्थिक अभाव, बेरोजगारी लगायत जटिल समस्याका कारण वैदेशिक रोजगारीमा जान बाध्य भएमा सम्बन्धित कम्पनी वा व्यक्तिको विश्वासमा नपर्न, सम्बन्धित निकायमा पुगेर त्यसबारे जानकारी लिन पनि उनको अनुरोध छ ।
रुषा थापा । काठमाडौं