सूचनाको शक्ति - The Power Of Information

        

स्मार्ट टेलिकमको आयु अब एक महिना मात्र

मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको आयु अब एक महिनामात्र बाँकी रहेको छ ।

सो कम्पनीको लाइसेन्सको म्याद वैशाख २ गतेसम्म रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि चासो नदेखाउँदा कम्पनीको आयु एक महिनामात्र रहेको हो ।

प्राधिकरणका निर्देशकसमेत रहेका प्रवक्ता सन्तोष पौडेलले स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स नवीकरणका लागि चासो नदेखाएको बताउनुभयो । पौडेलले भन्नुभयो– ‘अहिलेसम्म स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि चासो देखाएको छैन ।

लाइसेन्स नवीकरणका लागि कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकमसहित आवेदन दिनुपर्ने हुन्छ । तर, अहिलेसम्म कम्पनीले रकम तिरेर आवेदन दिएको अवस्था छैन ।’

स्मार्ट टेलिकमको लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिवानालगायतको बक्यौता छ । अहिलेसम्म स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई करिब २७ अर्ब रुपियाँ शुल्क तिर्नुपर्ने रहेको छ । यद्यपि, कम्पनीको ब्यालेन्स सिटअनुसार उक्त रकममा केही हेरफेर हुन सक्ने पौडेलको भनाइ छ ।

स्मार्ट टेलिकमको लाइसेन्सको म्याद वैशाख १ गतेसम्म मात्र हो । तर, सो दिन सार्वजनिक बिदा भएकाले वैशाख २ गतेसम्म नवीकरण शुल्कमा १५ प्रतिशत थप जरिवानासहित कम्पनीले नवीकरणका निम्ति आवेदन दिन भने सक्ने निर्देशक पौडेलले बताउनुभयो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०७:१८