सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना

‘काठमाडौंमा आज बिहान मौसम सफा रहे पनि अपराह्नपछि भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।’

देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विधागका अनुसार आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहको छ ।

अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ । विभागले आज दिउँसो पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौंमा आज बिहान मौसम सफा रहे पनि अपराह्नपछि भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘ठूलो पानी पर्ने सम्भावना भने छैन । केही समय वर्षा भएर रोकिनेछ ।’ विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक–हल्का वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०६:५१