हुँदा खाने र गरिखानेको दैनिकी छुट्टै छ । काम अनुसारको ज्याला त कमैले पाउँछन् । कतिले त त्यो पनि समयमै नपाउँदा कष्टकर दैनिकी गुजार्नुपर्ने बाध्यता यथावत नै छ । यो वर्गको समस्या समाधानका विषयमा कहीँकतै चर्चा त हुन्छ होला तर, मजदुरको पीडा न कसैले देख्छ, न कसैले सुन्छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाको करिब ७–८ किलोमिटर दुरीको क्षेत्रमा सेती नदी बग्छ । यही सेती नदीसँग धेरैको वर्तमान र भविष्य जोडिएको छ । सेती नदीबाट नदीजन्य वस्तु उत्खनन गरी केही व्यक्तिको रातारात जीवनस्तर उकासिएको पनि छ । तर, यही नदीको बगरमा खानी मजदुरका रुपमा दुईतीन पुस्ताले मजदुरी गरेपनि उनीहरूको जीवनस्तर माथि उठ्न सकेको छैन ।
शुक्लागण्डकीको दुलेगौंडा बजार नजिकै शाँखर घाट छ । यो घाटमा बिहान ५ बज्दा नबज्दै चहलपहल सुरु हुन्छ । हातमा गैँची, बेल्चा, कोदालो लगायतका औजार बोकी बालबालिका, युवायुवती मात्र होइन सात दशक उमेर नाघेका वृद्धवृद्धा समेत यही घाटको गिट्टीबालुवासँग हातेमालो गरी आफ्नो दैनिकी चलाउन व्यस्त देखिन्छन् ।
उमेरले ७१ वर्ष नाघेकी चन्द्रमाया भुजेलको दैनिकी अझै पनि सेती नदीको किनारमै बित्छ । नदी किनारमा बालुवा चालिनन् भने उहाँको घरमा चुलो बल्दैन अनि हातमुख जोड्न धौधौ पर्छ । आराम गरी घरपरिवारसँगै रमाउँदै घुमफिर गर्नुपर्ने जीवनको यो उमेरमा अझैपनि सेती नदीको चिसो सिरेटो सहेर घोटिनु परेको उनी बताउछिन् ।
बिहानको ५ बज्दा नबज्दै सेती नदीको घाटमा बालुवासँग पौँठेजोरी खेल्न आइपुग्ने भुजेल भन्छिन्, ‘सेती घाटमा आएर बालुवा निकाल्न थालेको पनि २० वर्ष बितेछ । मेरा उमेरका हुनेखानेहरू कामबाट विश्राम लिएर घरपरिवार र नातिनातिनासँग रमाइलो गर्दै बसेका होलान्, तर आफ्नो त काम नगरी घरमा चुलो जल्दैन ।’
कठाङ्ग्रिदो चिसोमा एकाबिहानै नदी किनारमा बालुवा चाल्न पुगेपनि कामअनुसारको ज्याला भने नपाएको उनको गुनासो छ । ‘बैंस छदाँजस्तो अहिले पाखुरीमा बल कहाँ छ र ?, यही बालुवामा पसिना नचुहाएसम्म भोक टर्दैन,’ उनले भने, ‘किनारबाट झिकेको बालुवा एक ट्रिपर बनाउन सके ठेकेदारले ७०० रुपैयाँ दिन्छन् । आफूलाई त्यही एक ट्रिपर बनाउन ४ देखि ५ दिन लाग्छ । मेहनत धेरै छ, कम ज्यालादारीमै भए पनि दैनिक बालुवासँग खेल्नु मेरो नियति बनेको छ ।’
शुक्लागण्डकी– २ की ६४ वर्षीय थीनामाया अधिकारी पनि विगत ६ वर्षदेखि सेती नदीको बगरमा बालुवा निकाल्दै बितेको छ । पाँच सन्तानकी आमा थीनामाया छोराछोरी हुर्किएपछि बूढा भएका बाआमालाई नहेर्ने गरेको गुनासो पोख्छिन् । हात खुट्टा चलुन्जेल आफैले कमाएर खाने सोच गर्दै भोजपुरबाट श्रीमानसँगै यो बगरमा विगत ६ वर्षदेखि बालुवा चाल्दै आएको उनी बताउछिन् ।
‘छोरा पाए बुहारीलाई छोरी पाए ज्वाइँलाई हुने रहेछ, नमरिन्जेल सुखदुःख काट्ने भनेका बूढाबूढी नै हुने रहेछ,’ उनी भन्छिन्, ‘हातलाई खाली नराखे पेट पनि खाली हुँदैन भनेर बिहान बेलुका हातमुख जोड्नका लागि यो बगरको चिसो र गर्मीको तापको कुनै प्रवाह नगरी काम गरिरहेका छौं ।’ बगरको चिसोले घुडादुख्ने, ढाँड दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएको उनी सुनाउछिन् ।
‘बुढाबुढी भइयो अरुले जस्तो चाँडोचाँडो हात चलाउन पनि सकिँदैन,’ उनले भनिन्, ‘कहिलेकाँही एकै दिनमा ७०० रुपैयाँको कमाई हुन्छ कहिले भने ३०० रुपैयाँ जति मात्र हुन्छ ।’ झिसमिसे उज्यालोमै उठेर शुक्लागण्डकीकी ३५ वर्षीया रेखा बिक पनि सेती नदीको किनार पुग्छिन् । गैती बेल्चा बोकेर नदी किनारमा पुग्ने रेखाको बगरमा बालुवा कोपरेर थुप्रो लगाउँदैमा उनको दिन बित्छ ।
बगरसँगको साइनो पुरानो भएको बताउँदै उनी भन्छिन्, ‘आमाबुबाले यही बगरबाट बालुवा (चोकर) निकालेर हामीलाई हुर्काइन् । उनीहरूसँगै आउँदा मैले पनि १२ वर्षको उमेरदेखि यही काम गर्दै आएकी छु ।’ उनको २० वर्षको छोरा छ । वैवाहिक जीवन सोचेजस्तो नभएपछि छोरा र घर व्यवहार चलाउन पुनः बगरमै फर्किएको उनी सुनाउँछिन् ।
दिनभरीको समय नदी किनारमै बिताउँदा उनले महिनामा १०–१५ हजार रुपैयाँ जम्मा गर्छिन् । ‘हामीले निकालेको चोकर ट्रिपर–ट्याक्टर आएर लगिदिए एक ट्रिपरको ७०० रुपैयाँ पाउँछौँ’, उनले भनिन्, ‘धेरै बालुवा चाल्न सके दिनमा तीन टिप्पर जति उठाउन सक्छौँ ।’ करिव २० वर्ष यही बगरमै बिताइसकेको बताउने रेखा भन्छिन्, ‘न चिसो न गर्मी केही भन्न पाइँदैन । पेटका लागि संघर्ष गर्नैपर्छ । जति मेहनत गर्छौ त्यसको मूल्य भने पाउन सकेका छैनौँ ।’
खानी मजदुरहरूले हिउँदमा एक टिप्पर चोकरको ७०० र बर्खामा एक हजारसम्म पाउने गर्छन् । विगत २–३ वर्षदेखि नै रकम बढाउँछु भनेपनि हालसम्म नबढेको ४३ वर्षीय दुर्गाबहादुर अधिकारी बताउछन् । ‘म २०५३ सालदेखि यही काम गर्दै छु । अहिले मसँगै परिवारका चार सदस्य पनि यही घाटमा चोकर चाल्ने काम गरिरहेका छौं,’ उनले भने, ‘कहिले पानीमा भिजेर, जाडोगर्मी नभनी गर्नुपर्छ तर, दुःख गरेअनुसारको आम्दानी भने छैन ।’
सेती नदीको पानी सुक्दै गएपछि शुक्लागण्डकी नगरपालिकाले घाट सञ्चालन गर्न टेन्डर प्रक्रिया अगाडि बढाउँछ । यस नगरपालिकाभित्र ९ वटा घाटहरू छन् । हलेदी घाट, तालबेंसी घाट, साँखर घाट, सुरौदी घाट, माथिल्लो किमलडाँडा घाट, तल्लो किमलडाँडा घाट र दुन्दुरे घाट व्यक्तिलाई ठेक्कामा दिइएको छ भने पुर्णिघाट–१ र पूर्णिघाट–२ सडक आयोजनालाई दिइएको नगरप्रमुख कृष्णराज पण्डित बताउँछन् ।
नारायण खड्का । तनहुँ