अमेरिकीबाट शंकास्पद रुपमा रकम नेपाल भित्र्याएका विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सोमबार जिल्ला अदालत काठमाडौंले ठगी, संगठित अपराध तथा लिखत सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।
शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद जेल चलान भएका हुन् । पक्राउ परेकी विनिता तामाङलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
अछाम स्थायी घर भएका शाहले विदेशी नागरिकलाई ठगी गरेको ३८ करोड ८६ लाख रुपैयाँ विभिन्न कम्पनीका नाममा नेपाल ल्याएको दाबीसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केन्द्रीय २२ पुसमा पक्राउ गरेको थियो ।
उनले त्यसरी ल्याएको थप रकम राष्ट्र बैंकले अनुसन्धानका लागि भन्दै लामो समय रोक्का राखेपछि यो प्रकरण बाहिर आएको थियो । राष्ट्र बैंककै पत्राचारका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
यो घटनामा अन्य १३ जनाविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता भएको छ । अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर अपराधको पैसा उनले कम्पनीका नाममा भित्र्याएको सीआइबीले जनाएको छ । उनलाई सघाउने अन्तर्राष्ट्रिय समूहमाथि अनुसन्धान भइरहेको सीआइबीले बताएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं