०७८ साल पुस २४ गते नागार्जुन नगरपालिका–१ रानीवनस्थित पानीट्यांकीमा झारफुकका लागि राखिएकी सिन्धुपाल्चोक चौतारा घर भई मध्यपुर थिमि मगरगाउँ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको मृत्यु भयो ।
श्रेष्ठको ४८ वर्षीया माता उमा शाही ठकुरीको यातनाका कारण मृत्यु भएको थियो । हत्या अभियोगमा मुद्दा चलेपछि जिल्ला अदालत काठमाडौंले माता भनिने ठकुरीलाई ०७८ माघ २० गते कर्तव्य ज्यानसम्बन्धी कसुरमा पुर्पक्ष थुनामा पठाएको छ ।
पेट दुखेर अस्वस्थ भएपछि ललितपुर महालक्ष्मी–६, लुभुकी सुष्मा श्रेष्ठ महर्जनले पनि उस्तै यातना भोग्नुपरेको छ । ०७८ भदौ १८ गते श्रेष्ठका श्रीमान्ले सन्चो हुने विश्वासमा धामी–झाँक्रीकहाँ लगे । नागार्जुन–३ ठूलोभर्याङस्थित दीपेन्द्रकुमार थिङको कोठामा लगेर बोक्सी चढेको भन्दै मलमूत्र खुवाउँदै लठ्ठीले कुटेर श्रेष्ठलाई सख्त घाइते तुल्याइयो ।
प्रहरी अनुसन्धानपछि मुद्दा चलेपछि काठमाडौं अदालतबाट असोज १३ गते बोक्सीको आरोप सम्बन्धी कसुरमा धामीसहितका दोषीलाई ५–५ वर्ष कैद र २५–२५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भयो । राजधानीमै झारफुकको बहानामा यातना भोगेकी रूपा (सविता) राई डेढ महिना अस्पतालमा बसेर अघिल्लो साता मात्र डिस्चार्ज भइन् ।
सुनसरी बराहक्षेत्र नगरपालिका–६ कालाबन्जराकी ३३ वर्षीया रूपालाई धामीले कथित बोक्सीको आरोपमा तातो तेल र पानीले छातीमा पोलेको घाउ अझै निको भएको छैन । रूपाको तीनपल्ट त अपरेसन नै गर्नुपरेको थियो । उनको छातीमा प्लास्टिक सर्जरी गरिएको छ ।
रूपाको हात बाँधेर आफूलाई माता बताउने सचिना सारू मगरसहित पाँच जनाले तातो तेल र पानी खन्याएको अभियोगमा मुद्दा चलाइयो र जिल्ला अदालत काठमाडौंको आदेशले उनीहरू हाल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । राजधानी काठमाडौंमै अन्धविश्वासका कारण महिलाले चरम यातना भोग्नुपरेका यी केही दृष्टान्त हुन् ।
तथ्यांकले कथित ‘बोक्सी’ को आरोपमा महिलाले गम्भीर यातना खेप्दै ज्यानसमेत गुमाएको अवस्था दर्शाउँछ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बोक्सीको आरोप र झारफुकका कारण मुलुकभर पछिल्ला तीन वर्षमा ७ जना महिलाले ज्यान गुमाएका छन् ।
यातना र हत्यामा संलग्न ५० जना आरोपी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार २०७७–०७८ मा दुई जना, २०७८–०७९ मा चार र चालु वर्षमा एक जना महिलाको मृत्यु भएको देखिन्छ । धामी–झाँक्रीको यातनाका कारण दुई जना महिला गम्भीर घाइते भएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं