सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप र आसिफ चम्किँदा पीएनजीमाथि नेपालको कीर्तिमानी जित

बलिङमा सन्दीप लामिछाने र ब्याटिङमा आसिफ शेख चम्किएपछि नेपालले आइसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)माथि नौ विकेटको कीर्तिमानी जित निकालेको छ ।

एकदिवसीय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा नेपालको यो अहिलेसम्मको फराकिलो जित हो । यसअघि, नेपालले सन् २०२० को फेब्रुअरी १२ मा त्रिवि क्रिकेट मैदानमै अमेरिकालाई आठ विकेटले हराएको थियो ।

लक्ष्य पछ्याउने क्रममा नेपालको यो नै अहिलेसम्मको फराकिलो जित थियो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

त्यसअघि, बलिङमा नेपाली टिमका स्पिनर हाबी बन्दा टस हारेर ब्याटिङमा उत्रिएको पीएनजी ३२ ओभरमा ९५ रनमै समेटिएको थियो । नेपालको जितमा आक्रामक रूपमा प्रस्तुत भएका ओपनर आसिफ शेखले २१ बलमा आठ चौका र तीन छक्कासहित ५१ रन बनाए ।

कुशल भुर्तेलले १४ बलमा चार चौका र दुई छक्कासहित ३३ रन प्रहार गरे । कुशल मल्ल १२ रनमा अविजित रहे । पीएनजीका चाड सोपरले एक विकेट लिए । पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए ।

१० ओभर बलिङ गरेका सन्दीपले एक मेडनसहित २५ रन खर्चिए । सन्दीपले एकदिवसीय क्रिकेटमा तेस्रोपटक एकै खेलमा पाँच विकेट लिएका हुन् । ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले समान एक विकेट लिए ।

पीएनजीका कप्तान असद भालाले २० रन बनाए । सेसे बाउले १८, चार्ल्स एमिनीले १६ र हिरी हिरीले १४ रन जोडे । यसबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । घरेलु मैदानमा जारी शृंखलामा नेपाल यसअघिका दुवै खेलमा विजयी भएको थियो ।

नेपालले शृंखलाको पहिलो खेलमा पीएनजीलाई ५२ रनले र दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई १७७ रनले पराजित गरेको थियो । नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ का पछिल्ला सात खेलयता अपराजित छ ।

लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई अब शृंखलाको अन्तिम खेलमा पनि जित आवश्यक छ । नेपालले आइतबार (हिजो) यूएईलाई पराजित गरेसँगै एकदिवसीय मान्यता आउँदो चार वर्षका लागि सुनिश्चित गरेको थियो ।

जितसँगै ३५ खेलबाट ३८ अंक जोडेको नेपाल अंकतालिकाको चौथो स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको पीएनजीको एकदिवसीय मान्यता समेत गुमिसकेको छ । ३४ खेलबाट ३१ अंक जोडेको यूएई तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:११