सूचनाको शक्ति - The Power Of Information

        

इन्सपेक्टरको बर्दी लगाएर प्रहरी कार्यालय जाने जवान निलम्बित

इन्सपेक्टरको बर्दी लगाएर प्रहरी कार्यालयमा गई नेपाल प्रहरीका असईलाई दबाब दिने सशस्त्र प्रहरीका एक जवान निलम्बनमा परेका छन् । आचारसंहिता विपरीत कार्य गरेकोमा सशस्त्र प्रहरी जवान संदिप कुमार साह निलम्बित भएका हुन् ।

उनले सशस्त्र प्रहरी निरीक्षकको दज्र्यानी चिन्हसहितको वर्दीमा ईलाका प्रहरी कार्यालय आरुघाटमा पुगी म गोरखा गुल्मको ईन्स्पेक्टर हुँ भन्दै ईलाका प्रहरी कार्यालयमा परेको एक निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेका थिए । सशस्त्र प्रहरी जवान साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखी काठमाडौमा कार्यरत रहेकोमा १० दिन घर विदा स्विकृत गराई विदा गएका थिए ।

गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नम्बर ३ थुमी बस्ने १५ वर्षिया सुस्मिता बराम यही फागुन १५ देखि १९ गतेसम्म गोरखा जिल्लाको सदरमुकाममा रनिङ शिल्डको लागि भाग लिन गएको र कार्यक्रम पश्चात घर फिर्ता नभई सोही वडाको श्यामम्राङ बस्ने हिराबहादुर बरामले ललाई फकाई आफुुसँग लगेको भन्ने निवदेन ईलाका प्रहरी कार्यालय आरुघाटमा परेको थियो ।

सुस्मिता बरामका बुवाले नाबालिका छोरीलाई ललाई फकाई लैजाने हिराबहादुर बराम उपर कारवाही गरी पाउँ भनि निवेदन दिएपछि दुवै पक्षलाई आवश्यक अनुसन्धानको लागि उक्त प्रहरी कार्यालयमा झिकाइएको थियो । सशस्त्र प्रहरी जवान साहले सुस्मिता बरामको बुवा मेरो ससुरा र हराएकी सुस्मिता बराम मेरो साली हो, उक्त केशमा आएको हुँ भनि ईलाका प्रहरी कार्यालय आरुघाट पुगेका थिए ।

घटनालाई प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको भन्ने बुझिएका उनलाई दज्र्यानी चिन्हसहितको वर्दी दुरुपयोगसमेत गरेपछि सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्वन गरी कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १२:१३