सूचनाको शक्ति - The Power Of Information

        

आइजी बनाउन सक्ने एउटा ‘क्लज’

नेपालको पहिलो महिला प्रहरी प्रमूख किरण ! प्रतिस्पर्धामा कति बलियो ?

प्रहरी नियमावलीमा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई आइजी बनाउन सक्ने एउटा ‘क्लज’ छ ।

अहिले नै प्रहरी नियमावली यथावत् रहेको खण्डमा चैत ११ गते प्रहरी महानिरीक्षक (आइजी) धीरजप्रताप सिंहले अवकाश पाउनेछन् । त्यसपछि शुक्रवारमात्रै एआइजीमा बढुवा सिफारिस भएका पाँच जनामध्येबाट एक जनाले सङ्गठन प्रमुखको जिम्मेवारी पाउनेछन् ।

गृह मन्त्रालयले शुक्रवार पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा समितिको बैठकले डीआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई बढुवाको लागि सिफारिस गरेको छ ।

सात दिनसम्म उनीहरूविरुद्ध कुनै पनि उजुरी नपरेको खण्डमा मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआइजीमा बढुवा गर्नेछ । बढुवा भएको केही दिन पनि बित्न नपाउँदै बढुवामा परेका मध्येबाट एक जनाले नेपाल प्रहरी प्रमुखको दर्ज्यानी चिह्न लगाउने अवसर पाउनेछन् । प्रहरी नियमावली अनुसार वरिष्ठता, कार्यकुशलता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता लगायत कुरालाई मध्यनजर गरेर महानिरीक्षकमा बढुवा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

तर, पनि प्रत्येक पटक आइजी नियुक्तिको क्रममा विवाद हुने गरेको छ । यसै विषयलाई लिएर सरकारको निर्णय चित्त नबुझ्दा डीआइजी नवराज सिलवाल, रमेश खरेल र विश्वराज पोखरेलले राजीनामा दिएका पछिल्ला उदाहरण नै छन् । त्यसैले आइजी नियुक्तिमा सरकारको भूमिका पनि अहम् छ । प्रहरी नियमावली २०७१ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई आइजी बनाउन सक्ने एउटा ‘क्लज’ पनि छ ।

त्यही बुँदालाई टेकेर राजनीतिक दलसँग निकटताको आधारमा पनि आइजी नियुक्ति हुने गरेको आरोप सरकारको नेतृत्व गर्नेहरु माथि लाग्दै आएको छ । यसपटक आइजी नियुक्ति पनि विवादरहित होला भन्ने अपेक्षा गर्न सकिँदैन । विवादित बनेन भने चाहिँ अनौठो तर सकारात्मक उपक्रम हुनसक्छ । यसपटकको आइजी नियुक्ति प्रकरण आफैँमा ऐतिहासिक बन्न सक्ने देखिएको छ ।

साढे ६ दशक लामो प्रहरी इतिहासमा यसपटक महिला प्रहरी पनि प्रहरी महानिरीक्षकको दाबेदार बन्दैछिन् । शुक्रवारको सिफारिस अनुसार बढुवा भएको खण्डमा हाल डीआइजी रहेकी किरण बज्राचार्य पनि महानिरीक्षक बन्ने सक्ने सम्भावना रहनेछ । यदि उनलाई सरकारले आइजी बनाउने निर्णय गरेको खण्डमा नेपाल प्रहरीको इतिहासमा उनी पहिलो महिला प्रहरी महानिरीक्षक बन्नेछिन् ।

यसअघि डीआइजी पार्वती थापा पहिलो एआइजी बन्ने लाइनमा पुगेकी थिइन् । तर, सरकारले उनको बढुवा रोकेको थियो । उनीभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई बढुवा गरेपछि उनी अदालतसम्म पुगेकी थिइन् । तर, अदालतबाट उनले चाहेको जस्तो आदेश भएन । त्यसपछि उनले अवकाश पाइन् । त्यसपछिका महिला प्रहरी प्राविधिक बाहेक अन्य डीआइजीभन्दा माथि पुग्न सकेनन् ।

तर, अहिले भने नेपाल प्रहरीमा चार जना डीआइजी महिला छन् । जसमा बज्राचार्य बाहेक मीरा चौधरी, दुर्गा सिंह र किरण राणा छन् । तीन जना चाहिँ एआइजी सिफारिसमा परेनन् । त्यसैले हाललाई उनीहरूको आइजी हुने बाटो बन्द भएको छ । उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनीहरूले विभिन्न जिल्ला र ब्युरोको कमान्डसमेत सम्हालिसकेका छन् ।

प्राविधिक बाहेक एआइजी पूजा सिंह उच्च प्रहरीको दर्जामा पुग्ने पहिलो महिला हुन् । अब नयाँ इतिहास बनाउने लयमा किरण बज्राचार्य रहेकी छिन् । गृहमन्त्री स्तरीय निर्णय अनुसार २०७७ मङ्सिर ७ गतेबाट लागू हुने गरि ३३ जना एसएसपी सरुवा गरिँदा एसएसपी किरण बज्राचार्यले ललितपुरको कमान्ड सम्हाल्ने मौका पाएकी थिइन् । एसएसपीको कमान्ड रहने काठमाडौं र ललितपुर जिल्लामा पहिलो पटक महिला प्रमुख भएर जाने उनै थिइन् ।

बज्राचार्यले यसअघि भक्तपुर जिल्लाको कमान्ड पनि सम्हालेकी थिइन् । त्यस्तै इन्टरपोल विभाग, वाग्मती प्रहरी प्रदेश प्रमुख भएर पनि बज्राचार्यले काम गरिसकेकी छिन् । अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४०० रहेको छ । जसमा महिला प्रहरीको सङ्ख्या ८ हजार ९६९ छ । ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी सङ्गठनमा भने मुस्किलले ११ प्रतिशत मात्र प्रतिनिधित्व छ ।

झन् उच्च दर्जामा महिलाको उपस्थित कम भएको अवस्थामा बज्राचार्यको बढुवाले इतिहास रच्ने बाटो खोलेको छ । वरिष्ठता र बढुवामा प्राप्त अङ्क हेर्दा एआइजीमा सिफारिस भएका डीआइजी वसन्त कुँवर सबैभन्दा अगाडि देखिएका छन् । कुँवरको प्राप्त अंक ६९ दशमलव ७३ रहेको छ ।

त्यस्तै सिफारिस भएका अर्का डीआइजी टेकबहादुर राईको प्राप्त अङ्क ६९ दशमलव ५८, डीआइजी दीपक थापा ६९ दशमलव ३, डीआइजी श्याम ज्ञवाली ६९ दशमलव शून्य ५ र बज्राचार्यको ६८ दशमलव ४८ रहेको छ । कुनै समय घरको चुलो चौकोमा मात्र सीमित रहने भनिएका महिला अहिले देशका विभिन्न सर्वोच्च निकायको नेतृत्व गरिरहेका छन् ।

विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति बनिन् । सुशीला कार्कीले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश भइन् । ओनसरी घर्ती मगर प्रतिनिधिसभाको सभामुख बनिन् । इतिहास बनाइरहेका महिलाहरुको सूचीमा के किरण बज्राचार्यको नाम पनि रहला त ? त्यसका लागि हामीले दुई सातामात्र प्रतीक्षा गर्नुपर्नेछ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १६:५१