सूचनाको शक्ति - The Power Of Information

        

बामदेबलाई दिइँदै शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा


काठमाडौं । सरकारले निकट भविष्यमै शक्तिशाली प्रकृतिको विकास निर्माण प्राधिकरण निर्माण गर्ने भएको छ । समृद्धि र सुशासनलाई प्राथमिकता दिएको केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले पार्टी सचिवालय सदस्य बामदेब गौतमलाई प्राधिकरणको कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको नेतृत्व दिन लागिएको हो ।
विकास र समृद्धिको क्षेत्रमा रुचिका कारणले पनि गौतमलाई कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको नेतृत्व दिन लागिएको हो । गौतमलाई प्राधिकरणको नेतृत्व दिन प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले सहमति जनाएका छन् । गौतम गत निर्वाचनमा बर्दिया १ मा पराजित भएका थिए ।
राजनीतिक विषयवस्तुका अलावा समृद्धि र विकास मामिलामा रुचि भएका गौतमले नेपाल नवनिर्माण महाअभियान नामको पुस्तक समेत प्रकासित गरेका छन् । १५ पुष ०७४ मा सो पुस्तकको विमोचन ओली र प्रचण्डले संयुक्त रुपमा गरेका थिए । त्यसक्रममा प्रचण्डले गौतमलाई विकास सम्बन्धी कुनै जिम्मेवारी दिइने खुलासा पनि गरेका थिए ।
पार्टी एकताका क्रममा गौतमलाई एमाले–माओवादी केन्द्रले समृद्धि र सुशासन सम्बन्धी कार्यदलको जिम्मेवारी दिइएको थियो । संयुक्त चुनावी घोषणा पत्रका समावेश गरिएका कार्यक्रमहरुको कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा सो कार्यदल केन्द्रित थियो । संयुक्त चुनावी घोषणा पत्रको निर्माणमा पनि गौतमले अगुवाई गरेका थिए ।
गौतमले आफूले विकास निर्माण सम्बन्धी प्राधिकरण बन्नुपर्छ भन्ने सुझाव आफूले सार्वजनिक रुपमा दिएको गौतमले बताए । प्राधिकरण सर्वाधिकार सम्पन्न हुनुपर्ने भएकाले त्यसको मुख्यव्यक्ति प्रधानमन्त्री हुनुपर्ने गौतमले बताए । गौतमले भने, ‘प्रधानमन्त्री नभैकन त्यो सर्वाधिकार सम्पन्न बन्न सक्दैन ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १०:४४