नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
शनिबार बसेको सचिवालय बैठकले उपराष्टपति पदमा शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बागमती प्रदेशका पूर्वमुख्य मन्त्रीसमेत रहेकी शाक्य एमाले उपाध्यक्ष हुन् ।
साथै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरेको भन्दै त्यस्तो ब्याख्या संविधानको मर्मविपरित हुने जनाएको छ ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले राष्ट्पतिमा खसआर्यबाट पुरुष राष्ट्पति भैसकेको अवस्थामा उपराष्ट्रपति उम्मेदवार महिला नै हुनुपर्ने एमालेको ठहर छ । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा समेत छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् ।
बैठकपछि एमाले केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ’, भनिएको छ ।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि महिला वा अन्यबाट मात्रै उपराष्ट्पतिमा उम्मेदवारी दिन मिल्ने बताएका थिए । प्रमुख आयुक्त थपलिया र एमालेको भाषा मिलेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं