गत महिना प्रविधि उद्योगका ‘डिलमेकर’ बाओ फान एकाएक हराए । यसले चीनमा अर्बपति अचानक गायब हुने घटनाक्रमप्रति चासो बढाएको छ । टेन्सेन्ट, अलिबाबा र बैदुजस्ता इन्टरनेट क्षेत्रका चर्चित हस्ती कम्पनीहरुलाई आफ्नो ग्राहक बनाएको चाइना रेनासा होल्डिंग्सका संस्थापक उनलाई चिनियाँ प्रविधि क्षेत्रकै एक शक्तिशाली व्यक्ति मानिन्थ्यो ।
तर उनी गायब भएसँगै चीनमा अर्बपति हराउने घटनाक्रमबारे चासो बढेको हो । बाओको हराइले पनि उही लय पछ्याएको छ । उनको कम्पनीले चीनमा निश्चित नियमन अधिकारीको अनुसन्धानलाई सहयोग गरिरहेको घोषणा गर्नुअघि नै बाओ हराएको धेरै दिन बितिसकेको थियो । यो त एउटा चलन नै बसिसकेको छ, कुनचाहिँ सरकारी निकायले के अनुसन्धान गरेको र उनी कहाँ छन् भन्नेबारे अत्तोपत्तो छैन ।
पछिल्ला वर्षहरुमा अलिबाबाका मालिक ज्याक मासहितका चिनियाँ व्यवसायीहरु हराइरहेकै थिए । अहिले बाओ अचानक अदृश्य भएपछि घटनाक्रम थप रहस्यमय बनेको छ । त्यसो त यसरी अर्बपति हराउँदा धेरैको ध्यान आकर्षित हुन्छ नै तर चीनमा सरकारविरोधी र मानवअधिकारजस्ता अभियानमा भाग लिँदा हराएका धेरै चिनियाँहरुको कम चर्चा हुन्छ । बाओको अचानक अदृश्यले राष्ट्रपति सी चिनफिङले चिनियाँ अर्थतन्त्रमाथिको नियन्त्रणलाई कसिलो पारिरहेका छन् भन्ने बुझाइलाई फेरि एकपटक जोड दिएको छ ।
यही बेला चिनियाँ संसद ‘नेशनल पिपल्स कंग्रेस (एनपीसी)को वार्षिक सम्मेलन चलिरहेको छ । सम्मेलनले चीनको वित्तीय नियमन प्रणालीमा वर्षौँपछि ठूलो परिमार्जन गर्ने योजनाहरु छन् । योसँगै विशेषतः वित्तीय क्षेत्रमा निगरानी गर्न नयाँ वित्तीय नियमन निगरानीकर्ता (वाचडग) खडा गरिँदैछन् । सरकारी अधिकारीहरुका अनुसार यसले दशौँ खर्ब डलर मूल्यवान् चिनियाँ वित्तीय सेवा उद्योगहरु हेरिरहेका धेरै संस्थाहरुमा रहेका लुपहोल्स (प्वाल) बन्द गर्नेछ ।
सन् २०१५ मा मात्रै कम्तीमा पाँच जना कार्यकारीहरु सम्पर्कविहीन भएका थिए । तिनमा गुओ गुआङचाङ पनि एक थिए । उनी इंग्लिस प्रिमियर लिग फुटबल क्लब वल्भरहेम्प्टन वाडरर्सको स्वामित्वकर्ताका रुपमा पश्चिमा राष्ट्रमा बढी चिनिन्छन् । जो व्यावसायिक समूह फोसुन इन्टरनेशनलका प्रमुख समेत हुन् । उनी त्यो वर्षको डिसेम्बरमा सम्पर्कविहीन भएका थिए । कम्पनीले उनी सम्पर्कमा आएपछि मात्रै अनुसन्धानलाई सघाइरहेको बताएको थियो ।
त्यसको दुई वर्षपछि चिनियाँ–क्यानडेली व्यवसायी सियाओ चिन्ह्वालाई हङकङको एक विलासी होटलबाट समातिएको थियो । उनी चीनका धनाढ्यमध्ये एक हँदै आएका थिए भने गत वर्ष भ्रष्टाचार आरोपमा जेल पठाइएको थियो । सन् २०२० को मार्चमा घरजग्गा क्षेत्रका हस्ती अर्बपति रेन झिकियाङ राष्ट्रपति सीले गरेको कोभिड महामारीमा व्यवस्थापनलाई लिएर जोकर (क्लाउन) भनेपछि गायब भएका थिए । त्यही वर्षको अन्त्यतिर एक दिने सुनुवाइपछि रेनविरुद्ध भ्रष्टाचारमा १८ वर्षको जेल सजाय भएको थियो ।
अझै यसरी हराउने उच्च शक्तिशाली व्यावसायिक व्यक्तिमध्ये अलिबाबाका संस्थापक ज्याक मा पनि भए । त्यतिखेर चीनकै सर्वधनाढ्य उनी देशको वित्तीय नियमनको आलोचनापछि सन् २०२० को अन्त्यतिर गायब भएका थिए । योसँगै एन्ट ग्रुपको ठूलो सेयर सूचीकरण रद्द भएको थियो । ‘साझा समृद्धि (कमन प्रस्परिटी)’ कोषमा लगभग १० अर्ब डलर दान गर्नुका बाबजुद उनी चीनमा २ वर्षयता देखिएका छैनन् । त्यसो त उनीविरुद्ध कुनै अपराधको अभियोग पनि लगाइएको छैन ।
मा अहिले कहाँ छन् भन्ने त खुलेको छैन तर उनी जापान, थाइल्यान्ड र अस्ट्रेलियामा बितेका महिनाहरुमा देखिएका कुराहरु आएका थिए । यता चीन सरकारले भने देशका केही धनाढ्यविरुद्ध चालिएका कदम पूर्णतः वैधानिक रहेको र भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्नेतर्फ केन्द्रित रहेको बताउँदै आएको छ । तर बेइजिङका कदमहरु अहिले चीनलाई संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनाएको दशकौँको उदारीकरणलाई उल्ट्याउनेतर्फ देखिएका छन् ।
त्यही खुलापनबाटै चीनमा धेरै अर्बपतिहरु जन्मिन मद्दत गर्यो जो आफ्नो अथाह सम्पत्ति आर्जनसँगै पर्याप्त शक्ति प्रयोग गर्नेतिर उन्मुख थिए । अहिले राष्ट्रपति सीका केही अनुगमनकर्ताहरु चिनियाँ कम्युनिष्ट पार्टीले त्यो शक्ति फर्काउन चाहेको बताउँछन् । जुन रहस्यमय तरिकाले भइरहेको छ । त्यहाँ अहिले ठूलो व्यवसाय (बिग बिजनेस)को सिद्धान्त अघि बढेको छ, विशेषतः प्रविधि क्षेत्रले राष्ट्रपति सीका पूर्ववर्तीहरु चियाङ जेमिन र हु चिन्ताओका नीतिअनुसार आफ्नो शक्ति बढाउन पाए ।
त्यसअघि बेइजिङको ध्यान परम्परागत शक्तिकेन्द्र हुन्थ्यो जसमा सैन्य, उद्योग र स्थानीय सरकार मुख्य थिए । यी क्षेत्रलाई कसिलो बनाउन सफल भएसँगै सीले अहिले अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा राख्न ध्यान केन्द्रित गरिरहेका छन् । उनको साझा समृद्धिको नीतिले मुख्यतः प्रविधि उद्योगहरुलाई विशेष अनुसन्धानसँगै कडाइ गरिरहेको छ । ‘विशेषगरी कुनै एक उद्योग वा चाहेको समूहलाई लक्षित गरेर कहिलेकाहीँ यी घटनाक्रम ठूलै सन्देश दिनका लागि तयार गरिन्छ’, द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निक म्यारो भन्छन् ।
‘बेइजिङको मुख्य ध्यान ठूला प्रविधि उद्योग र यसका खेलाडीहरुलाई आफ्नो ब्रान्ड र प्रभाव विकास नगरून् भन्नेमा छ जसले उनीहरुलाई बेइजिङको चाहनाविपरीत जान दिँदैन’, ग्लोबल एडभाइजरी कम्पनी अल्ब्राइट स्टोनब्रिज ग्रुपमा चीन र प्रविधि नीतिका प्रमुख पल ट्रियोलोले भने । साझा समृद्धि भनेकै कानुनी शासन हो र यसले धनी र गरिब समान हुनुपर्छ भन्ने मान्यता राख्छ । बेइजिङले यो नीतिलाई सम्पत्तिको फराकिलो अन्तर साँघुर्याउने लक्ष्य लिएको छ । त्यसले कम्युनिष्ट पार्टीको स्थानलाई बेवास्ता गर्ने भन्दै धेरैले मुख्य मुद्दाका रुपमा यो अन्तरलाई लिइरहेका छन् ।
चीनमा अहिले असमानता बढिरहेको छ भने सीले पार्टीको समाजवादी धारतर्फ अघि बढ्न पार्टीभित्र दबाब खेपिरहेका छन् । अर्बपतिहरु हराउनुलाई रहस्यका रुपमा त लिइरहेको छ नै, व्यवसायमाथि बेइजिङको निशानाले नसोचेको परिणाम दिनेतर्फ पनि ध्यानाकर्षण बढ्दो छ । चीनलाई नियाल्ने केही सरकारले नयाँ व्यवसाय प्रतिभालाई अँचेटेर जोखिम मोलिरहेको बताउँछन् । ‘बेइजिङका यस्ता कदमले अर्को ज्याक मा बन्न खोजिरहेका प्रविधि उद्यमीलाई थप दबाब पुगेको छ’, ट्रियोलोले भने ।
यसबारे राष्ट्रपति सी पनि सचेत छन् । यही हप्ता एनपीसीमा आफ्नो भनाइ राख्दै उनले चीनलाई निजी क्षेत्रको महत्वपूर्ण आवश्यकता रहेको बताएका थिए । सँगसँगै उनले निजी उद्यम र उद्यमीलाई धनी र उत्तरदायी, धनी र न्यायी तथा धनी र मायालु बन्नुपर्ने बताएका थिए । नयाँ वित्तीय वाचडगको घोषणा त छँदै छ, गत महिना मात्र बैंकरहरुलाई समेत पश्चिमा बैंकरलाई आफ्नो उदाहरणका रुपमा नलिन भनिएको थियो । टिप्पणीकारहरुले यसलाई सीले वित्तीय प्रणालीलाई आफ्नो नजरमा राखेको अर्को प्रमाणका रुपमा लिएका छन् ।
‘बितेका महिनायता विशेषगरी वरिष्ठ कार्यकारीको बोनस स्किम र तलब तथा व्यवस्थापन र तल्लो तहका कर्मचारीले पाउने भुक्तानीको अन्तरमा केन्द्रित भई हामीले साझा समृद्धिको एजेन्डा वित्तीय क्षेत्रमा जाने देखिरहेका छौँ’, म्यारोले भने । तर अर्बपतिहरुमाथि सीले गरेका कडाइले उनलाई शक्तिमा रहिरहन कति मद्दत गर्नेछ भन्ने हेर्न बाँकी नै छ । अहिले चिनियाँ वित्तीय बजार, व्यवसाय र सिंगो अर्थतन्त्रमा रहेको ‘कन्फिडेन्स’चाहिँ निश्चित रुपमा जोखिममा छ ।
पिटर हस्किन्स । काठमाडौं