सूचनाको शक्ति - The Power Of Information

        

स्ववियु निर्वाचन : विद्यार्थी संगठनबीच बझाङमा अनौठो गठबन्धन

बझाङमा सबै विद्यार्थी संगठनहरु गठबन्धन गरेर स्ववियुको निर्वाचनमा भाग लिने भएका छन् । त्रिभुवन विश्व विध्यालय अन्तरगतका क्याम्पसहरुमा चैत ५ गते र सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ ।

सोही निर्वाचनलाई लक्षित गरि बझाङमा दुई–दुई विद्यार्थी संगठन मिलेर निर्वाचनमा भाग लिने भएका छन् । जसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा एकीकृत समाजवादी निकट विध्याथी संगठन अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)बीच निर्वाचनमा सहकार्य हुने भएको छ ।

त्यस्तै नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनबीच निर्वाचनमा सहकार्य हुने भएको छ । विद्यार्थी संगठनका प्रमुख नेताहरुले आज निर्वाचनमा सहकार्य गरेर जाने भनेर छलफल गरी हस्ताक्षर गरेका छन् ।

एमाले र नेकपा एसको गठबन्धन : कुन क्याम्पस कुन संगठनको भागमा ?

निर्वाचनमा सहकार्य गरेर जाने भएपछि विद्यार्थी संगठनहरुले क्याम्पसहरुको भागवण्डा गरेका छन् । जसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको भागमा जयपृथ्वी बहुमुखी क्याम्पस, सेती क्याम्पस बगडगाउँ, थलारा क्याम्पस खोली, खापरदेव क्याम्पस कालुखेती, सुनकुडा क्याम्पस सुनकुडा परेका छन् । यी पाँच क्याम्पसमा एमाले निकट अनेरास्ववियुले सभापति पदमा र नेकपा एस निकट अनेरास्ववियुले सचिव पदमा दावी गर्ने भएको छ ।

यस्तै नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियुको भागमा शान्ति आर्दश क्याम्पस व्याँसी, बझाङ दिप क्याम्पस झोता र त्रिवेणी आर्दश क्याम्पस विजगडा परेका छन् । यी तिन वडा क्याम्पसमा नेकपा एस निकट विद्यार्थी संगठनले सभापती पद र एमाले निकट विद्यार्थी संगठनले सचिव पदमा दावि गर्ने भएको छ ।

काँग्रेस र माओवादी केन्द्रको गठबन्धन : कुन क्याम्पस कुन संगठनको भागमा ?

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)बीच पनि निवार्चनमा गठबन्धन हुने भएपछि क्याम्पसहरु भागबन्डा गरिएको छ । जसमा नेविसंघले त्रिवेणी आर्दश क्याम्पस विजगडा, खापरदेव क्याम्पस कालुखेती, सुनकुडा क्याम्पस सुनकुडा, जयपृथ्वी बहुमुखी क्याम्पस, सेती क्याम्पस बगडगाउँ, आफ्नो भागमा पारेको छ ।

यी पाँच क्याम्पसमा नेविसंघले सभापती पदमा र अनेरास्ववियु (क्रान्तिकारी)ले सचिव पदमा दावी गर्ने भएको छ । त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी)ले बझाङदिप क्याम्पस झोता, शान्ति आर्दश क्याम्पस व्याँसी र थलारा क्याम्पस खोली आफ्नो भागमा पारेको छ । यी तिन क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)ले सभापति पदमा र नेविसंघले सचिव पदमा दावी गर्ने भएका छन् ।

त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित

बझाङको बुंगल नगरपालिका–४ बिजगडामा रहेको त्रिवेणी आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित गरिएको छ । क्याम्पसले एक सूचना निकाल्दै क्याम्पसमा स्ववियु निर्वाचन गर्ने वातावरण नभएकाले अर्को सहमति नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको निर्वाचन अधिकृत डम्मरबहादुर कार्कीले बताए ।

क्याम्पसले मनोमानी सर्वदलिय बैठेकको निर्णयविना नामावलीउपर दावीविरोधको निवेदनलाई समेत मतलव नगरी आफ्नो ढंगले विद्यार्थी संगठनको सहमतीविरुद्ध नामावली प्रकाशन गरेको भन्दै स्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता गरिएका चार वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै हिजो क्याम्पसमा ताला लगाएका थिए । उनीहरुले आफ्ना मागहरु पुरा नभए क्याम्पसको ताला नखोल्ने र थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

एमाले, समाजवादी, माओवादी केन्द्र र विप्लव निकटका विद्यार्थी संगठनले विद्यार्थी संगठनले मतदाता नामावली त्रिभुवन विश्वविद्यालयको निर्देशन अनुसार प्रकाशन गर्नुपर्ने, कुनै पनि पूर्व सूचनाविना विएड दोस्रो बर्ष र तेस्रो वर्षका विद्यार्थीहरुको गैरकानुनी र मापदण्ड विपरीत मतदातामा नाम हटाइएकोले छानविन गरी सम्पूर्ण विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी गराउनुपर्ने, फागुन ५ गतेको त्रिविको निर्णय अक्षरस पालना गर्नुपर्ने, क्याम्पस प्रसासनल विद्यार्थी संगठनलाई सूचना सम्बन्धिको हकबाट वन्चित गरी पुरै क्याम्पसलाई राजनितीक अखडा बनाई अन्य संगठनसंग गरेको सिमित व्यवहारलाई सुधार गरी अहिलेको विध्यालय व्यवस्थापन समितिको कार्यकाल पुरा भएकोले नयाँ निमार्ण समिति गठन गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १९:३१