सूचनाको शक्ति - The Power Of Information

        

चैत १० सम्ममा सरकार पुनःगठन

कांग्रेस उपसभापति भन्छन्, ‘सरकार विस्तार विश्वासको मतपछि मात्रै’

‘अब पुनःगठन हुने सरकारमा नेपाली कांग्रेस सहभागी हुन्छ । तर कसले नेतृत्व गरेर जाने भन्ने विषयमा पार्टीभित्र छलफल भइसकेको छैन ।’

राष्ट्रपति र उपराष्ट्रपति चयनलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछिमात्रै सरकार विस्तार हुने भएको छ । बिहीवार राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

अब ३ चैतमा उपराष्ट्रपति पनि चयन भएपछि सरकार पुनर्गठन गर्ने तयारी भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । राष्ट्रपति कांग्रेसको पोल्टामा पार्न प्रभावशाली भूमिका खेलेका खड्काले अब फेरि पनि वर्तमान प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा सरकार पुनर्गठन हुने जानकारी दिए ।

‘राष्ट्रपति निर्वाचित हुनुभएको छ । अब हामी उपराष्ट्रपतिको निर्वाचन गर्छौं । प्रधानमन्त्री आफैंले पनि उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनःगठन हुन्छ भन्नुभएको छ । उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ,’ खड्काले भने, ‘उपराष्ट्रपति चयन भएको केही दिनमा विश्वासको मत लिने र यसको बढीमा दुईतीन दिनभित्रमा सरकार विस्तार गर्ने भन्ने छ ।’

राप्रपाले समर्थन फिर्ता लिएको ३० दिन पुग्ने भएकाले प्रचण्डले चैत १३ भित्र विश्वासको मत लिइसक्नुपर्छ । ५ गतेसम्म संसद् स्थगित भएकाले त्यसलगत्तै विश्वासको मत लिएर चैत १० भित्रमा मन्त्रिपरिषद् विस्तार हुन सक्ने उनको संकेत छ । अहिलेकै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार पुनर्गठन हुने र यही गठबन्धन ५ वर्ष जाने पनि खड्काले दाबी गरे ।

‘हामी निर्वाचन अगाडि नै यो गठबन्धनमा थियौं । १० पुसमा एउटा परिस्थिति बन्यो । तर आ–आफ्ना गल्ती र कमजोरीलाई स्वीकार्दै अघि बढेपछि हामी फेरि सँगै उभिएका छौं,’ खड्काले भने, ‘अब प्रचण्ड नेतृत्वको सरकार पुनर्गठन हुन्छ । र, यो गठबन्धन ५ वर्षसम्मै चल्छ । किनकी १० पुसमा भएको कमजोरी र गल्तीलाई स्वीकारेर हामी अघि बढेका छौं । अब पहिलेजस्तो गल्ती हुँदैन ।’

खड्काले अब माओवादीलाई धोका दिएर एमालेसँग कुनै सहमति नहुने पनि प्रस्ट्याए । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि बल्ल सरकारमा सहभागी हुने दल र मन्त्रीको टुंगो लगाउने छलफल हुने बताए । ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि बल्ल सरकारमा सहभागी हुने दल र मन्त्रीको टुंगो लाग्छ,’ खड्काले भने, ‘अब पुनःगठन हुने सरकारमा कांग्रेस सहभागी हुन्छ । तर कसले नेतृत्व गरेर जाने भन्ने छलफल भइसकेको छैन ।’

यसअघि नै प्रचण्डलाई प्रधानमन्त्री बनाएर पनि गठबन्धन जोगाउनुपर्ने अडानमा रहेका खड्का पुनः गठबन्धन ब्युँताउने सूत्रधारसमेत हुन् । उनी आफैंले सरकारमा कांग्रेसको नेतृत्व गरेर जाने चर्चा पनि छ । तर खड्का यस्तो तयारीले मूर्तरूप नलिएको बताउँछन् । ‘सरकार विस्तारको कोर्षमा प्रवेश नै गरिएको छैन । यसैले कसले नेतृत्व गरेर जाने भन्नेमा टुंगो लागिसकेको छैन,’ खड्काले भने, ‘प्रस्ट छलफल नै नभएको विषयमा मेरो आफ्नै तयारी र रुचिको मात्रै कुरा गरेर हुँदैन ।’

१० पुसमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । तर २६ पुसमा कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएर सम्बन्ध विकास गरेपछि राष्ट्रपति चुनावसम्म आइपुग्दा गठबन्धन भत्किएको थियो । माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएपछि एमाले सरकारबाट बाहिरिएको हो । यसैले प्रधानमन्त्रीले विश्वासको मत लिने र सरकार पुनर्गठन गर्ने अवस्था आएको हो ।

गठबन्धन कसरी भत्कियो, कसरी जोडियो ?

चुनावअघि नै सहमति गरेर अघि बढ्न तयारी भए पनि पदको हानाथापले १० पुसमा गठबन्धन धरापमा परेको खड्काको भनाइ छ । ‘नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौं । तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो,’ खड्काले भनेका छन् ।

‘दुर्भाग्यवश पुस १० गते एजेन्डाहरूमा सहमत भएका दलहरू पदको कारणले मैले भन्नैपर्ने हुन्छ, गठबन्धन भत्कियो । उपसभापति खड्काले भने, ‘त्यसै दिनदेखि पनि हामीले एजेन्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रूपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो । र, अन्ततोगत्वा यो परिस्थिति बन्यो ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १७:४३