नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्न उमेर बाधक देखिएको छ । शुक्रबार बिहान उन्मुक्ति पार्टीको संसदीय दलको बैठकल अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, गत मंसिर ४ गत सम्पन्न निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ त्यतिबेला ३९ वर्षमात्र भएको देखिन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।श्रेष्ठको ३९ वर्ष मात्र देखिएकाले उपराष्ट्रपति बन्न उनको उमेर नपुग्ने देखिएको हो ।
त्यस्तै नेपालको संविधानको धारा ६५ मा राष्ट्रपति बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । तर, उपराष्ट्रपति बन्नका लागि कति उमेर हुनुपर्ने भन्ने उल्लेख नभए पनि राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने उल्लेख छ । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले बाराका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं