सूचनाको शक्ति - The Power Of Information

        

गाउँ रित्तिए, बजार भरिए !

एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए । स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो ।

साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ ।

गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ । निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरा लगायत ठाउँ बजारमा परिणत हुँदै गएका छन् । गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन् ।

गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए । ‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ,’ उनले भने । तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी छ । योसँगै पोखरा, काठमाडौँ, बुटवल लगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन् । बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउँछन् ।

‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्,’ अध्यक्ष बुढामगरले भने । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउँछन् ।

उनी भन्छन्, ‘गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन् ।’ गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको गलकोट-७ का विष्णु थापाले बताए । बसाइँसराइले गाउँ रित्तिँदा उत्पादनमा कमी आएको छ । धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १०:४१