सूचनाको शक्ति - The Power Of Information

        

श्री एयरलाइन्सको विमानमा आगो लागेपछि काठमाडौंमै आकस्मिक अवतरण

काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।

जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । विमानमा ७८ जना यात्रु रहेका थिए । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् । जहाज क्याप्टेन भरतसिंह थापाले उडाएका थिए । यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको थियो । दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १०:२५