नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउन फेरि प्रक्रिया अघि बढेको छ । आइजिपीको अवकाशको समयमा नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय बारम्बार अघि बढे पनि असफल हुने गरेको छ । यसपटक भने हट्ने सम्भावना रहेको बताइन्छ ।
गृह मन्त्रालयले सेवाहद हटाउनुपर्ने विषयमा पनि अन्य निकायसँय राय लिने प्रक्रिया अघि बढाएको छ । अर्थ र कानून मन्त्रालय दुवैले यसमा सहमति दिएको स्रोत बताउँछ । यस विषयमा प्रधानमन्त्री प्रचण्ड र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच बुधबार छलफल समेत भएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।
गत मंसिरमा शेरबहादुर देउवा नेतृत्व सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधन गरी सेवाहद हटाउने प्रयास गरेके थियो । तर, त्यसले मूर्तरुप पाएन । अहिले यो विषयमा गृह मन्त्रालयले फेरि प्रक्रिया अघि बढेको छ । ३० वर्षे सेवाहदले प्रहरी संगठनलाई कमजोर बनाएकाले यसलाई हटाउनुपर्नेमा सबै प्रहरी अधिकारी सहमत छन् ।
तर, विस्तृत अध्ययनबिना नै हटाउँदा कुनै ब्याचलाई धेरै फाइदा हुने र केहीलाई मर्का पर्ने भएकाले यसमा विवाद हुने गरेको छ । अहिले पनि संगठनभित्र विस्तृत छलफल र वृत्ति विकास योजनाबिना नै यो विषय अगाडि बढाइएपछि कतिपय प्रहरी अधिकारी सशंकित बनेका छन् । नयाँ आइजिपी नियुक्तिका लागि अनुभवी उम्मेदवार नभएकाले पनि अहिलेकै नेतृत्वलाई निरन्तरता दिन सेवाहद हटाउन लागिएको बताइन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं