सूचनाको शक्ति - The Power Of Information

        

आइसीसी विश्वकप लिग : ब्याटिङमा पनि सन्दीपकै भर !

आइसीसी विश्वकप लिग टू क्रिकेटमा नेपाल अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । दुबई रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले आजपनि खराब सुरुवात गरेको छ ।

१७ दशमलब १ ओभरमा ६८ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको थियो । कप्तान रोहित पौडेल एक रनमै आउट भए । आसिफ शेखले ६ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११ र कुशल मल्लले ३२ रनको योगदान गरे ।

दीपैन्द्रसिंह ऐरी ४ रनमा आउट भए । १८ औं ओभरमा ऐरीलाई पाँचौं विकेटका रुपमा गुमाएपछि नेपालले सन्दीपलाई मैदान उतार्यो । यसअघि उनले गरेका प्रदर्शनका कारण ब्याटिङमा पनि उनको भर पर्नुपर्ने अवस्था बनेको हो ।

तर सन्दीप आज ४० बल खेल्दै २७ रन बनाएर आउट भएका छन् । यसअघि अघिल्लो पपुवा न्यूगिनीविरुद्धको खेलमा अविजित ३५ रनको योगदान गरेका सन्दीपले युएईसँगको अघिल्लो खेलमा पनि नटआउट २६ रन जोडेका थिए ।

लगातार ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपलाई सोमबार युएइविरुद्ध पाँचौं विकेटपछि मैदान उतारिएको हो । जारी प्रतियोगितामा नेपाल ३१ खेलबाट ३० अंक जाडेर छैटौँ स्थानमा छ । समान खेलबाट एक अंक बढी बनाएको युएई पाँचौ स्थानमा छ ।

बाँकी रहने ४ खेल भने मार्च ९ देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । कीर्तिपुरमा पनि नेपाल, युएई र पपुवा न्यूगिनीबीचको त्रिदेशीय सिरिज हुनेछ । नेपालले लिग टूमा खेल्न बाँकी पाँच मध्ये सबै खेल जित्न सके सिधै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष तीनभित्र पर्न नसके क्वालिफायर खेल्नुपर्नेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:५०