सूचनाको शक्ति - The Power Of Information

        

माताको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु

माता भनिने सोनिया रेश्मीको शारीरिक यातनाबाट रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको छ ।

सुरुमा घाँटी र कान दुःखेपछि ज्वरो आएर स्थानीय सालझन्डीको एक क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई घरपरिवारले मातासँग झारफुक गराउने भन्दै सैनामैना–१०, बेम्टेनीकी २२ वर्षीया माता सोनियाकहाँ शनिबार साँझ लिएर गएका थिए ।

माता भनिने सोनियाले धामीझाँक्री गरी बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन् । त्यसपछि उनको शनिबार राति साढे ९ बजे मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बालिकाको मृत्यु शारीरिक यातनाबाटै भएको भिडियो सार्वजनिक भएकाले सोनियालाई जिल्ला अदालत रुपन्देहीबाट हिरासतमा राखी अनुसन्धान अघि बढाउन पाँच दिनको म्याद लिएको बताए ।

लगातार चार–पाँच दिनदेखि बिरामी परेकी सीताको मृत्यु माताको शारीरिक यातनाले भएको भन्ने थाहा नपाएका स्थानीय बासिन्दा सोही राति कपिलवस्तुको लक्ष्मणघाटमा सद्गतका लागि परिवारको आग्रहमा मलामी गएका थिए ।

सद्गत गरेर आएपछि घटना सामसुम भएको थियो, तर आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको भिडियोबाट देखिएको छ ।

भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना देखिन्छ ।

त्यसपछि इलाका प्रहरी कार्यालय सालझन्डीले आइतबार साँझ नै सोनियालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले मलामी गएका स्थानीय २३ जना गाउँलेलाई समेत नियन्त्रणमा लिएर सोमबार सोधपुछ गरी पछि बोलाइएमा उपस्थित हुने गरी छाडेको छ ।

इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले माता भनिने सोनियाको शारीरिक यातनाबाटै बालिकको मृत्यु भएको देखिएको बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:३३