सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा होली विशेष ‘गोलभेँडा उत्सव’

तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे । उनले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे । स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात पर्व मानिन्छ ।

सो पर्व नेपालमा मनाइने होली जस्तै हो । सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ । आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ ।

‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ,’ उनले भने । कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको व्यवसायी श्रेष्ठले बताए । होटल एशोसियशन अफ नेपाल बाँकेको सहआयोजना हुने ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन् ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले गोलभेँडा उत्सवलाई पर्यटनसँग जोडेर लैजान खोजिएकाले होलीको व्यापकताले नयाँ सन्देश दिने बताए । पर्यटकीय दृष्टिकोणले गोलभेँडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेँडा पर्व मनाइने बताइएको छ ।

अत्यन्त स्वास्थ्यवद्र्धक, भिटामिन र मसलायुक्त तरकारीजन्य गोलभेँडाको प्रयोगले छालालाई राम्रो बनाउने विश्वास छ । बाँके पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्षसमेत रहेका श्रेष्ठले सद्भाव र रङको पर्व होली जस्तै देखिने ‘गोलभेँडा उत्सव’लाई प्रवद्र्धन गर्न आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ११:५३