काठमाडौं । तितरवितर र विभिन्न झुन्डमा रहेका नेपाली कम्युनिस्टहरूको एउटा ध्रुवीकरण भयो, २०४७ सालमा । २८ वर्ष अघिको यो ध्रुविकरणले जन्माएको थियो, नेकपा एमाले । ०४५ सालदेखि कम्युनिस्ट आन्दोलनभित्रको वैचारिक संघर्ष, संगठन सम्बन्धी दृष्टिकोण, वर्ग संघर्ष तथा प्रजातान्त्रिक आन्दोलनका निम्ति बाम एकता, संयुक्त मोर्चा र कार्यगत एकता तथा कम्युनिस्ट एकता र पार्टी एकीकरणको प्रक्रिया सम्बन्धी विभिन्न विषयहरूमा वस्तुवादी ढंगले सोच्ने र यथार्थ एवं सही नीतिगत निष्कर्षमा पुग्ने प्रयास भएका थिए ।
जसको परिणामस्वरूप २०४६ सालमा पंचायतविरुद्धको संघर्षका लागि संयुक्त वाम मोर्चा बन्यो । संयुक्त वाम मोर्चामा नेकपा (माले), नेकपा (माक्र्सवादी), नेपाल मजदुर किसान पार्टी, नेकपा (वर्मा), नेकपा (अमात्य) र नेकपा (मानन्धर) समूह संलग्न भए । त्यसले २०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्न सक्यो । वाम मोर्चाका माध्यमबाट कम्युनिस्ट पार्टीहरूबीच विकास भएको सौहार्दताले पार्टी एकताका निम्ति पनि वस्तुगत आधार तयार पार्ने काम गरेको थियो ।
कम्युनिस्ट आन्दोलनभित्र कायम रहेको मतभेदका कारणले वाम मोर्चा संचालनमा समस्या उत्पन्न भए पनि प्रमुख पार्टीहरूको सुझबुझपूर्ण प्रयासका कारणले त्यो जनआन्दोलनको पछिल्लो कालसम्म पनि कायम रह्यो । वाम मोर्चामा भएको सहकार्यका कारणले नेकपा (माले) र माक्र्सवादी पार्टीबीच २०४७ साल चैतमा पार्टी एकता सम्पन्न भयो र एमालेको जन्म भयो । नेकपा (एमाले) को गठन पश्चात् नेकपा (अमात्य) समूह पार्टीमा एकीकृत भएको थियो । त्यसै गरी नेकपा (माओवादी), नेकपा (मसाल), नेकपा (चौम), नेकपा (मानन्धर), नेकपा (वर्मा) र नेपाल मजदुर किसान पार्टीबाट थुप्रै नेता र कार्यकर्ताहरू पार्टीमा एकताबद्ध भए ।
शान्तिपूर्ण र सडक आन्दोलनका लागि यो एमालेको सक्रियता बलियो भए पनि कम्युनिस्टको शतप्रतिशत एकीकरण भइसकेको थिएन । सैद्धान्तिक लाइनमा मतभेद भएका कारणले नै अर्को कम्युनिष्ट झुन्डले आकार बढाउने अभ्यास जारी राखेको थियो । समग्र प्रारम्भिक तयारी पुरा गरी २०५२ फागुन १ (सन् १९४९ फेब्रुअरी १३) मा अर्को कम्युनिष्ट केन्द्र, तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा भयो । जनयुद्धको मुलनारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढ्ने’ थियो । २०५३ जेठमा केन्द्रीय समितिको बैठक बसी १ बर्षको समिक्षा, थप योजना निर्माण ग¥यो ।
२०५५ भदौमा चौथो विस्तारित बैठक सम्पन्न भयो । यसको मुलनारा ः आधार इलाका निर्माणको महान दिशामा अघि बढ्ने थियो । २०५७ माघ–फागुनमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले ५ वर्षका जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचारश्रृंखला सहित प्रचण्डपथ शंश्लेषण भयो । २०५८ जेठ १९ मा दरवार हत्याकाण्डमार्फत राजा वीरेन्द्रको वंशनाश गरिएपश्चात तत्काल बसेको केन्द्रीय समितिको बैठकले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासको अगाडि सा¥यो । २०५८ श्रावण ८ गते युद्धविराम भई वार्ताको प्रक्रियामा पार्टी प्रवेश ग¥यो ।
तर, पुरानो सत्ताले कुनै पनि मागलाई सम्बोधन नगरेका कारण वार्ताको औचित्य समाप्त भएकोले २०५८ मंशीर ८ गते युद्धविराम भंङ्ग भएको घोषणासहित माओवादी युद्धमा प्रवेश ग¥यो । २०५९ माघ १५ गते दोश्रो पटक युद्धविराम भयो । २०६० जेठमा बसेको केन्द्रीय समितीको बैठकले इतिहासका अनुभव र २१औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज पारित गरेको थियो । २०६१ असोजमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले जनयुद्ध प्रत्याक्रमणको चरणमा प्रवेश गरेको निष्कर्ष निकाल्दै रणनीतिक प्रत्याक्रमणको पहिलो योजना निर्माण ग¥यो ।
२०६२ असोजमा चुनवाङ्गमा भएको केन्द्रीय समितिको बैठकले पार्टीमा व्यापक शुद्धिकरणको निर्णय ग¥यो । साथै ढाडमा टेकेर टाउकोमा हान्ने प्रत्याक्रमणको दोश्रो योजना पास ग¥यो । पार्टीले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति समेत पास गर्यो । चुनवाङ्ग बैठकको जगमा टेकेर २०६२ मंसीर ७ गते निरङ्कुश राजतन्त्रविरुद्ध ७ संसदवादी दलहरूसँग १२ बुदे समझदारी कायम भयो । सोही समझदारीका बलमा २०६२ चैत्र २४ गतेबाट शशक्त जनआन्दोलन श्रृष्टि भयो । १९ दिनको लगातारको आन्दोलनपछि २०६३ वैशाख ११ गते संसद पुनस्र्थापनाको शर्तमा संसदवादी दलले दरबारसँग सम्झौता गरे ।
१९ दिने जनआन्दोलन उत्कर्षमा त पुग्यो । तर, निष्कर्षमा पुगेन । २०६३ बैशाखमा १३ गते पार्टीले र बैशाख २१ गते सरकारले युद्धविराम ग¥यो । २०६३ वैशाखमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले शहरलाई जोड, गाउँलाई ध्यान दिने रणनीतिक स्थानान्तरणको कार्यदिशा पारित ग¥यो । २०६३ भाद्रमा सम्पन्न बैठकले क्रान्तिको पुनरावृत्ति होइन, विकास हुन्छ भन्ने निष्कर्षसहित नयाँ कार्यदिशाकोे खोजी गर्न थाल्यो । २०६४ भाद्रमा करिव ३ हजार प्रतिनिधिहरूसहित काठमाडौंको बालाजुमा पाँचौं विस्तारित बैठक सम्पन्न भयो । यसले काभ्रेको कामीडाँडा बैठकका निर्णयहरूलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ग¥यो ।
साथै अन्तरिम सरकारबाट हटेर आन्दोलनमा जाने निर्णय ग¥यो । यसपछि शान्ति प्रक्रियाका विभिन्न चरणमा प्रवेश गर्दैगर्दा माओवादी टुट फुट र पुनः जुट प्रक्रियादेखि नेकपा एमालेसँग पार्टी एकीकरणको चरणमा पनि पुग्यो र घोषणा भयो ५९ वर्षअघि पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी । दुई अध्यक्षात्मक प्रणालीलाई अंगीकार गरेको नेकपाका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा सभामा भने, ‘मैले नचाहेको र प्रचण्ड जी (अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)ले नचाहेको भए एकीकरण सम्भव हुने थिएन ।’
एकीकरणले एकप्रकारको वामपन्थी लोकलाई खुशी बनाएको छ । केही उग्रवाम पन्थीहरू सडकमा छन् । तर ठूलो जमात र संगठीत शक्ति राज्यसत्तामा लोकतान्त्रिक पद्दतीको बहुमतमा उभिएका छन् । ओलीले भनेजस्तै दुवैको इच्छाबिना एकीकरण सम्भव थिएन । तर, कम्युनिस्ट आन्दोलनका प्रभावका आधारमा मात्र होइन, यसमा नेताद्वयका आफ्ना परिधि र स्वभाव पनि एकीकरणका लागि मुख्य कारण बनिदियो ।
ओली–प्रचण्ड किन तयार भए ?
ओलीसँग विभाजित कम्युनिष्ट जीवित राख्ने अर्को उपाय भएन भने प्रचण्डले माओवादकै नाममा उत्तराधिकारी भेटेनन् । यसकारण ओली–प्रचण्डको घुलनले पुष्पलालको विचारको पुनर्जीवन भयो । तिलको चेहरामा रहेको नेपाली कम्युनिष्ट आन्दोलन ५९ वर्षपछि पहाड जसरी उदय भएको हो । यदि दुवै दलमा बलिया उत्तराधिकारी हुन्थे भने, विष्णु पौडेलेको उदय अर्को पुस्ताको नेतृत्वका रूपमा हुने नै थिएन ।
सत्ताका लागि दुई ठूला समिकरणको यो एकता असम्भव घटनाका रूपमा पनि देखा परेको छ । आश्चर्यजनक हिसाबमा भएको एकीकरणले ५२ प्रतिशत मत रहेको कम्युनिस्ट सम्प्रदाय र मतलाई जोगाएको विश्लेषण स्वभाविक हुन्छ । यसबाहेक विभिन्न टुक्रामा जारी रहेका कम्युनिस्ट आन्दोलनका समर्थक पनि जोडिने हो भने ओलीले घोषणामा भनेजस्तो अर्को निर्वाचनमा कम्युनिस्टको तीन चौथाई मत आउने बस्तुगत सम्भावना छ ।
अर्का अध्यक्ष प्रचण्डले यसलाई फेरि नयाँ र निक्कै ठूलो फड्को भनेका छन् । वास्तवमा बन्दुक, युद्ध, शान्ति प्रक्रिया, निर्वाचनमा सहभागीता हुँदै पार्टीको बृहतदेखि मझौला आकारसम्मको नेतृत्व गरेका प्रचण्डका लागि यो ठूलो फड्को नै हो । दुवै पार्टीका कम्तिमा पनि ७ लाख संगठित कार्यकर्ता, एक करोड बढि मतादाताको नेतृत्वको तहमा पुग्नु अस्वभाविक यात्रा हो । राजनीतिक जीवनमा केही थकित देखिएका प्रचण्डले भनेका छन्, ‘यो आउने पुस्ताका लागि प्रभावकारी र दिगो कदम हामीले उठाएका हौं ।’
हुन पनि रोगी ओली र थकित प्रचण्डले केही वर्षपछि राजनीतिबाट सन्यास लिने बेला आइसकेको छ । यो एकीकरणले ६० नाघेका ७० को आसपास रहेका नेताहरूका लागि एक दशकको सक्रिय राजनीतिको समयसीमा तय गर्दै नयाँ पुस्ताका लागि सुनौलो द्वार खोलेको छ । यहि बेला समृद्धिको यात्रालाई प्रभावकारी बनाउनुपर्ने चुनौति र पार्टीको दिशानिर्देश आवश्यक ठहर्छ ।
२८ वर्ष अघिको एमालेको संयोजन र २३ वर्ष अघिको माओवादीको ठूलो क्षेत्रफलको राजनीतिका दुई कोण मिल्दा ५१ वर्षको योग भए पनि यस एकीकरणले ५९ वर्ष अघिको पुष्पलालले स्थापना गरेको ‘कोमा’मा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई संजिवनी जल छर्किएर तन्दुरुस्त पारेको छ । त्यसैले पनि ओलीले भनेजस्तै पुष्पलाल जीवित भएको भए, छमछमी नाच्ने नै थिए ।
।