सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन आलेख

पोर्से गाउँका नागरिक भन्छन्, ‘हामीलाई सगरमाथा पनि अग्लो लाग्दैन’

हिमाल आरोहणको समयमा शेर्पाहरू एकाग्रतासहित व्यस्त हुन्छन् । सगरमाथा आरोहण गर्ने सबैभन्दा बढी जीवित आरोही भएको गाउँ हो, पोर्से ।

पोर्से गाउँ । यो सगरमाथा चढ्ने मध्ये धेरैको घर मानिन्छ । तस्वीर – निलिमा भाल्लाङ्गी

पोर्से गाउँ खुम्बु उपत्यकाको अग्लो पठारमा छ । चारैतिर हिउँका पहाड र कहीँकहीँ हरियालीले भरिएको यो बस्ती निकै सुन्दर छ । सुन्दर बस्तीमा बस्ने साहसी शेर्पाहरूलाई अब त सगरमाथा पनि अग्लो लाग्न छाडेको छ । ३८०० मिटरको उचाइमा २० वर्षका दुई युवा धागो कातेर बसिरहेका थिए ।

उनीहरुलाई सगरमाथा चढ्नुभएको छ/छैन भन्ने प्रश्न राख्दा एकले चढेको जवाफ दिए । गेस्ट हाउसमा पुग्दा पनेरू शेर्पा चिया टक्र्याइरहेका थिए । उनलाई सगरमाथा चढ्नुभएको छ भन्ने प्रश्न सोध्दा उनले आरोहण सरल नै रहेको भान हुने गरी भने, ‘अब किन चढ्नु १३ पटक पुगिसकें ।’ गेस्ट हाउस नजिकै बुवासँगै छोरा र छोरी पनि भेटिए ।

सन् २०२१ को बसन्त याममा छोरा–छोरीले बुवासँगै सगरमाथा आरोहण गरेर गिनिज बुकमा नाम लेखाए । विना योजना सगरमाथाको सफल आरोहण गरेपछि आफूले पर्वतारोहणमा सुनौलो भविष्य देख्न थालेको उनी बताउँछिन् । ‘परिवारै सगरमाथा आरोहणमा जाँदा हाम्रो कुनै योजना थिएन । तर जब चुचुरोमा पुगियो पर्वतारोहणको मेरो सपनालाई पछ्याउन म उत्साहित हुन थालें,’ पासाङ कान्छी शेर्पाले भनिन् ।

तेन्जिङ दोर्जे शेर्पा (वायाँ), सोनाम टासी शेर्पा (दायाँ) र पासाङ कान्छी शेर्पा । उनीहरु सगरमाथा आरोहण गर्ने पहिलो बाबु, आमा र छोरी हुन् । तस्वीर – निलिमा भाल्लाङ्गी

हिमालमा व्यावसायिक आरोहण २०औं शताब्दीको मध्यतिरबाट सुरू भएको हो । व्यावसायिक आरोहणलाई सफल बनाउन नेपालका शेर्पाहरूको भूमिका निकै महत्वपूर्ण छ । विश्वकै अग्लो चुचुरोमा टेक्ने विदेशीको चाहनालाई नेपालका शेर्पाहरूले पूरा गरिरहेछन् । साहसी शेर्पाहरू सगरमाथा क्षेत्रमा गाइडको रूपमा काम गर्छन् । कोही भरिया पनि छन् ।

हिमाल आरोहणको समयमा शेर्पाहरू एकाग्रतासहित व्यस्त हुन्छन् । सगरमाथा आरोहण गर्ने सबैभन्दा बढी जीवित आरोही भएको गाउँ हो, पोर्से । यस गाउँबाट सगरमाथा आरोहण गर्नेको संख्या ७० छ । सन् २००१ मा शेर्पाहरूले एन्करलाई भेटेपछि त्यहाँ आरोहणबारे तालिम दिने केन्द्र नै स्थापना भयो । आरोहणका तरिका, सुरक्षा मापदण्डबारे तालिम प्राप्त गरेपछि उनीहरूमा झन् मनोबल बढ्यो ।

‘हामीसँग आरोहीहरू धेरै थिए तर उनीहरू दक्ष थिएनन् । त्यसैले हामीले एन्करलाई तालिम केन्द्र स्थापनाको लागि अनुरोध ग¥यौं । तालिम केन्द्र स्थापनापछि शेर्पाहरूको मनोबल नै बढेको छ’, खुम्बु आरोहण केन्द्रका अध्यक्ष फुनरू शेर्पा भन्छन् । उनी स्वयंले सगरमाथाको ६ पटक आरोहण गरेका छन् ।

खुम्बु आरोहण केन्द्रमा तालिम गर्दै ।

एलेक्स लोवइको तिब्बतको सिसापाङ्माको हिमपहिरोमा परेर निधन भएको थियो । सन् १९९९ मा उनी हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेको १६ वर्षपछि उनको शव फेला परेको थियो । तिनै आरोहीको स्मरणमा उनकी श्रीमतीले एलेक्स लोवइ परोपकार फाउन्डेसन खोलेकी थिइन् । त्यही संस्थाले खुम्बुमा तालिम केन्द्र स्थापना गरिदिएको हो ।

सन् २००१ मा भेट भए पनि सन् २००२ सम्म त्यस फाउन्डेसनबाट कुनै जवाफ आएको थिएन । सन् २००२ मा उनीहरू ट्रेकिङ आएर अमेरिका फर्किए, त्यसपछि तालिम केन्द्र स्थापनाका लागि सहयोग गरेको फुनरू बताउँछन् । ‘एक वर्षसम्म त हामीले केही जवाफ पाएनौं । सन् २००२ मा उनीहरू ट्रेकिङमा आएका थिए । त्यसबेला पोर्से पनि पसे । अनि अमेरिका पुगेर तालिम केन्द्रको बन्दोबस्त गरिदिए’, फुनरू भन्छन् ।

फुनुरू शेर्पा । तस्वीर – निलिमा भाल्लाङ्गी

उचाइ चढ्नका लागि शेर्पाहरू मनोवैज्ञानिक रूपमै तयार भइसकेका छन् । त्यसैले विना तालिम पनि उनीहरूको आरोहण सफल हुनेगर्छ । तर प्राविधिक ज्ञानको कमीका कारण भने उनीहरूले दुर्घटनाको सामना पनि गर्नुपरेको थियो । कतिपय अवस्थामा उनीहरू दुर्घटनामा पनि परेका छन् । कोही अपाङ्ग भए भने कसैको मृत्यु पनि भयो । खुम्बु क्षेत्रमा फस्टाउने दुई कुरा मात्रै हुन् ।

पहिलो याक, दोस्रो आलु । दक्ष गाइड विनै हिमालय यात्रामा निस्कनु कुनै समय विदेशीका लागि विवशता थियो । तर तालिम केन्द्रको स्थापनापछि अहिले त्यस्तो समस्या नरहेको फुनरु बताउँछन् । हिमालयन तथ्यांक अनुसार सन् १९२१ देखि यता सगरमाथा क्षेत्रमा ३१० जनाको मृत्यु भइसकेको छ । तीमध्ये ८० प्रतिशत शेर्पा छन् । उनीहरू हिमपहिरोका कारण बिते भने विदेशीहरू लेक लागेर वा हिउँको असरले बितेका छन् ।

चुचुरोमा पुग्न धरातल बलियो हुनैपर्छ । आरोहण केन्द्रले आरोहीको धरातल बलियो बनाउन मद्दत गर्छ । पोर्सेका १४ आरोहीले सगरमाथा १० पटक भन्दा बढी चढिसकेका छन् । खुम्बु आरोहण केन्द्रमा सन् २००४ देखि तालिम सुरु भएको थियो । त्यहाँ तालिम लिनका निम्ति शेर्पाहरूलाई मनाउन खुबै सकस परेको थियो । फनेरूलाई पहिलो प्रश्न भनेकै तालिमको शुल्कबारे आउने गर्थ्यो ।

‘हामी पहिल्यै कतिपटक सगरमाथा चढिसक्यौं । यस्ता तालिम हामीले किन लिइरहनुपर्यो ?’ उनीहरू सोध्थे । त्यसको अलावा उनीहरूले पहिलो पटक १८ जनालाई भर्ना गरे । त्यसपछि यता हालसम्म १५०० जनाले त्यहाँबाट तालिम लिएका छन् । पोर्सेमा खाने–बस्ने प्रबन्ध आफैंले गरेपछि र आफ्नो बीमा गरेपछि तालिमका लागि अन्य कनै शुल्क लिइँदैन । गत वर्ष खुम्बु आरोहण केन्द्रले लुक्ला, नाम्चे र काठमाडौंमा फारम खुलाएको थियो । ९० जनाको स्थान एक घण्टामै बुक भएको फुनरु बताउँछन् ।

‘मेरा साथीहरूले काठमाडौंमा फारम खुलाएका थिए । तीन घण्टाभित्र ३५ जनाले फारम भरे । कोटा नै सकिएपछि बन्द गर्नुपर्यो,’ उनले भने । जाडोयाममा दुई हप्ताका लागि तालिम खुलाइन्छ । आरोहणमा इच्छा राख्नेहरूलाई आधारभूत तालिमदेखि बरफमा आरोहण, डोरी सम्बन्धी कौशल र प्राथमिक उपचारबारे उनीहरूलाई तालिम दिइन्छ ।

खुम्बु क्लाइम्बिङ सेन्टर । तस्वीर – निलिमा भाल्लाङ्गी

तालिममा सहभागीहरूलाई आरोहणका लागि चाहिने सामग्री र मौसम पूर्वानुमानबारे पनि ज्ञान दिइन्छ । जनवरीको अन्तिम सातादेखि फेब्रुअरीको सुरुवाती सातासम्म पोर्सेको तालिम मैदान भरिभराउ हुन्छ । त्यहाँबाट तालिम लिएकाहरूलाई नेपालीसहित विदेशी कम्पनीले पनि जागिर दिने गरेका छन् ।

‘यहाँबाट तालिमप्राप्तहरूले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय मान्यता पाउने गरेका छन्,’ खुम्बु आरोहण केन्द्रका निर्देशक अमृत आले भन्छन्, ‘खुम्बुमा आरोहण तालिम लिएकाहरूलाई जागिर पाउन पनि सजिलो छ र उनीहरूले निकै दक्षता हासिल पनि गरेका हुन्छन् ।’ खुम्बु आरोहण केन्द्र खोल्नुअघि पोर्सेका १२ जनाले मात्रै सगरमाथाको चुचुरो टेकेका थिए ।

सन् २०२१ मा केन्द्रबाट तालिम लिएका ५०० जना खुम्बु क्षेत्रका थिए भने २० जनाले सगरमाथाको सफल आरोहण गरे । यी युवा आरोहीहरू निकै दक्ष छन् । कुनै पनि कुरा एकैपटक सम्भव हुँदैन । खुम्बु आरोहण केन्द्रले आरोहणका लागि उपलब्ध गराएको तालिमले उनीहरूमा उर्जा र हिम्मत थपिदिएको छ । चुचुरोमा पुग्न धरातल बलियो हुनैपर्छ ।

आरोहण केन्द्रले आरोहीको धरातल बलियो बनाउन मद्दत गर्छ । पोर्सेका १४ आरोहीले सगरमाथा १० पटक भन्दा बढी चढिसकेका छन् । खुम्बु आरोहण केन्द्रलाई जग्गा दान गर्ने फुनरु शेर्पाले सगरमाथा १३ पटक चढिसके । आफ्नो अविश्वसनीय उपलब्धि र प्रतिभालाई सादा तरिकामै राख्नु वा लुकाउनु पोर्सेवासीको खासियत हो ।

हिमालमा पासाङ कान्छी शेर्पा । तस्वीर – पासाङ कान्छी शेर्पा ।

पर्वतारोहण दुनियाँका ख्याति प्राप्तहरूसँग भेटघाट गर्ने कुरा पोर्सेवासीका लागि सोच नै थिएन । अमेरिकी पर्वतारोही एन्कर तथा इमिली हेरिंगटनका कारण पोर्सेका बासिन्दाहरू नेशनल जियोग्राफी र नर्थफेसका हिस्सा पनि बनेका छन् । दावा याङ्जुङ शेर्पा नर्थफेसले प्रायोजन गरेको नेपालकी पहिलो महिला खेलाडी हुन् । उनी अन्तर्राष्ट्रिय पर्वतारोही महासंघबाट मान्यताप्राप्त आरोही पनि हुन् ।

याङ्जुङले आफ्नो प्रारम्भिक तालिम खुम्बु आरोहण केन्द्रमै लिएकी थिइन् । ‘महिलाहरूलाई आरोहणका लागि गाइडका रूपमा लिइँदैन । मैले त्यसलाई चुनौती दिनका लागि नेपाल पर्वतारोही संघबाट तालिम लिएँ र सन् २०१० मा खुम्बु आरोहण केन्द्रबाट तालिम लिंदा उत्कृष्ट विद्यार्थी पनि भएँ । खुम्बुले मलाई उत्कृष्ट भनेपछि अमेरिकी पर्वतारोही कोनार्ड एन्करले मलाई उनको टोलीसँगै सगरमाथा आरोहणको प्रस्ताव गरे,’ उनले भनिन् ।

पोर्से पूर्वाधारका हिसाबले पिछडिएको छ । त्यहाँ राम्रो सडकको प्रबन्ध छैन र बाटो बनाउन पनि चुनौतीपूर्ण नै छ । यस्तो अवस्थामा सोलार प्यानल, फलामे डण्डी लगायत सामग्री या त भरियाले पुर्याउँछन् या हेलिकप्टरले । २०७२ सालको भूकम्पपछि त यो क्षेत्रको गति झन् सुस्त छ । भूकम्पको समयमा हिमपहिरो जाँदा खुम्बु क्षेत्रका २२ जनाले ज्यान गुमाए । भूकम्पले खुम्बु आरोहण केन्द्रको भवनमा समेत क्षति पुर्याएको थियो ।

त्यसलाई दुई वर्ष लगाएर मर्मत गरियो । अहिले त्यो भवन सगरमाथा आरोहणको प्रवेशद्वार झैं छ । जहाँबाट मानिसहरूले आरोहणबारे ज्ञान प्राप्त गर्न सक्छन् । त्यस प्रवेशद्वारमा भेटिए ६१ वर्षीय दानुरू शेर्पा । अनुहार चाउरिए पनि उनमा जोश कत्ति पनि हराएको छैन । छेउमै रहेको हिमाल झैं दन्ते लहर खोलेर उनी मुस्कुराइरहेछन् । बुढेसकालमा पनि जोशिला दानुरू जवानीमा कस्ता थिए होलान् ?

दानुरु शेर्पा (वायाँ) र पेम्बा शेर्पा खुम्बु क्लाइम्बिङ सेन्टरमा । तस्वीर – निलिमा भाल्लाङ्गी

१३ पटक सगरमाथाको सफल आरोहण गरेको कुराले उनको जोशको बयान गर्छ । उनले पनि सन् २००४ मा आरोहण केन्द्रबाट तालिम लिएका थिए । त्यसपछि उनले छैटौं ठूलो हिमाल चोयो ६ पटक चढे भने पाँचौं ठूलो हिमाल मकालु एकपटक आरोहण गरे । ‘हामी आरोहणमा लगाव राख्नुको मुख्य कारण नै आर्जनका लागि हो । हामी शिक्षित नभएकाले जागिर गर्न सक्षम थिएनौं । हाम्रा युवाहरूका लागि हिमाल आरोहण पेशा नै बन्यो,’ दानुरू भन्छन् ।

सन् २०२१ मा तीनपटक सगरमाथा चढेका पोर्सेका उर्गेन लेन्दु शेर्पाले दुर्घटनामा ज्यान गुमाए । उनका ३१ वर्षीय दाइ तेन्जिङ ग्याल्जेन भने अझै पनि विदेशीलाई सगरमाथा पु¥याउने काम गर्छन् । उनी खुम्बु आरोहण केन्द्रका उपाध्यक्ष पनि हुन् । खुम्बु आरोहण केन्द्रले महिलाहरूलाई पनि हिमाल आरोहण पेशामा आवद्ध हुनका लागि प्रोत्साहन गरिरहेको छ । सन् २०१९ देखि आरोहण केन्द्रले महिलाहरूका लागि पनि तालिम दिन सुरु गरेको हो ।

‘जुनसुकै उमेरका नेपाली महिलाले हिमाल चढ्न सक्छन् भन्ने उदाहरण विश्वलाई दिनुछ,’ बुवासँग सगरमाथा टेकेकी पासाङ कान्छी शेर्पा भन्छिन् । सगरमाथा चढ्नुअघि पासाङले ६ हजार मिटर उचाइका हिमाल चढेकी थिइन् । एक महिनासम्म खुम्बु आरोहण केन्द्रमा तालिम लिएपछि उनले सगरमाथाको चुचुरोमा पाइला राखिन् । ‘सगरमाथा आरोहण निकै नै जोखिमपूर्ण छ तर पोर्सेवासीका लागि अब त यो चुचुरो पनि अग्लो लाग्न छोडिसक्यो ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार १६:३२