प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संबर्धन गर्न मानिसले बिर्सिसके तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन ।
समायानकुल आफू परिवर्तन हुनु प्रकृतिको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् । समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो ।
सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छौं । दुनियाँलाई लोभ्याउने सामर्थ्य भएको प्रकृति साँच्चिकै नाम जत्तिकै सुन्दर छ । यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौं, खेल्छौं, हाँस्छौं, बस्छौं तर प्रकृतिको संरक्षण गर्दैनौं ।
गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा हुन सकेको छैन । तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन । यदि प्रकृतिले पनि मानवजाति झैं आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो ? त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ ।
हामी मानवजातिले पनि प्रकृति झैं आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नुहुँदैन । आफ्ना हरेक सन्ततीलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान छ । हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न प्रकृतिको मजा छ ।
प्रकृतिलाई मानवीकरण गर्ने हो भने बोल्दो हो, सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शीतलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुन्गुनाइरहन्छ, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगतलाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ ।
मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नुहुँदैन, म माथि कुनै बज्रपात किन नपारेस् मैले फुल्न छोड्नुहुँदैन, मैले बग्न छोड्नुहुँदैन, मैले सुसाउन छोड्नहुँदैन, मैले मेरो कर्तव्य केही छोड्नुहुँदैन । मलाई काँडाले प्रहार गर्नेमाथि पनि फूलले जवाफ फर्काउनुछ र सबैलाई आफूसँगै साथमा लैजानुछ ।
सत्यपाटी संवाददाता । काठमाडौं