सूचनाको शक्ति - The Power Of Information

        

‘टुर गाइड’को विकल्प ‘क्युआर कोड’

पोखरा घुम्न आउने पाहुनालाई यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय वा पुरातात्विक गन्तव्यबारे बुझ्न कि त गाइडको भर कि प्रकाशित दस्तावेज खोजी वा स्थानीय अगुवासँग भेट्नुपर्ने बाध्यता थियो ।

अब यस्तो बाध्यता हट्ने भएको छ । अब एकपटक क्युआर कोड स्क्यान गरेपछि आफूले जान्न चाहेको गन्तव्यको पुरै विवरण पढ्न र सुन्न मिल्ने सामग्री मोबाइल फोनमै उपलब्ध हुनेछ ।

यसका लागि पोखराका विभिन्न १६ वटा गन्तव्यमा क्युआर कोड राखिएको छ, जुन धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । पर्यटकले पर्यटकीय गन्तव्यमा राखिएका क्युआर कोड स्क्यान गरेपछि त्यसबारे सुन्न र पढ्न मिल्ने सामग्री विभिन्न भाषामा पाउनेछन् । हालका लागि पाँचवटा भाषामा १६ वटा गन्तव्यको चिनारी क्युआर कोडमार्फत पाउने व्यवस्था मिलाइएको छ ।

पोखरा पर्यटन परिषद् (पिटिसी) र पर्यटन बोर्डमार्फत विभिन्न १६ पर्यटकीय गन्तव्यमा क्युआर कोड राखिएको हो । क्युआर कोड तयार पार्ने काम यात्रा प्रविधि कम्पनी सारङ सर्भिसेजले गरेको हो ।

यो कम्पनीले विभिन्न प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको चिनारी कथा धेरैवटा भाषामा सुनाउँछ । पिटिसीका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार नेपाली, अंग्रेजी, हिन्दी, स्पेनिस र फ्रेन्च गरी पाँचवटा भाषामा पोखराका १६ वटा गन्तव्यको जानकारी दिनेगरी क्युआर कोड तयार पारिएको छ । पर्यटकले पर्यटकीय गन्तव्यको क्युआर कोड स्क्यान गरेपछि त्यसबारे आफूले चाहेको भाषामा पढ्न र सुन्न सक्छन् ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार ०७:३७