विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम सजाय माग्दै सरकारी वकिलले अभियोगपत्र दर्ता गरेको हो।
उक्त मुद्दामा दोषी ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ। गीतकार महेश आचार्यको उजुरीको आधारमा फागुन ८ गते थाइल्याण्डबाट नेपाल आउँदै गरेको बेला रेग्मीलाई प्रहरीको साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।
सामाजिक सञ्जालमा चरित्रहत्या हुने गरी निकृष्ट गालीगलौज गरेको भन्दै आचार्यले उजुरी दिएका थिए।
उनको उजुरीमाथि गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन्।
रेग्मीको उक्त कार्यले सांगीतिक क्षेत्र दुःखी भएको समेत उनीहरुले उल्लेख गरेका छन्।
सत्यपाटी संवाददाता । काठमाडौँ