सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बिहीवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु हिउँदे अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

प्रदेश सभामा दोस्रो कार्यकालका लागि सांसदहरू निर्वाचित भएर आएपछि दुई महिनामात्रै हिउँदे अधिवेशन चलेको छ । पुस १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । हिउँदे अधिवेशनमा चार वटा विधयेक र दुई वटा अध्यादेश पारित भएका प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

गण्डकीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा गठबन्धनको सरकार छ । एमालेका खगराज अधिकारी मुख्यमन्त्री हुनुहुन्छ । सङ्घीय सरकारमा एमाले र माओवादीको गठबन्धन टुटिसकेको छ ।

गण्डकीमा माओवादी केन्द्रका सांसदले समर्थन फिर्ता लिएमा एमाले सरकारबाट बाहिरिनुपर्ने छ । पुनः विश्वासको मत लिँदा उहाँको पक्षमा सत्ता जोगाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ ।

सरकार परिवर्तन हुने आशङ्काकै बीच हिउँदे अधिवेशन अन्त्य भएको हो । यदि माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनलाई प्रदेश सभाको विशेष अधिवेशन बोलाइने व्यवस्था छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १८:१७